हवाई भाडा अस्वाभाविक बढाएपछि पर्यटन र परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण

शुक्रबार, २३ कार्तिक २०८१, १७ : १८

काठमाडौँ - अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वाभाविक वृद्धि भएसँगै मेनपावर व्यवसायीहरूले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको अत्यधिक महँगो भाडा तिर्नुपरेको भन्दै सङ्घले पर्यटन र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । नेपालबाट मलेसिया र मध्यपूर्वका गन्तव्यमा जाने श्रमिकहरूले आर्थिक बोझ थपिएको भन्दै यसको समाधान गर्न आग्रह गर्दै सङ्घले दुवै मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

सीमित ट्राभल एजेन्सी र एयरलाइन्सहरूको मिलेमतोमा टिकटको मूल्य कृतिम रूपमा बढाइएको भन्दै व्यवसायीहरूले पर्यटन मन्त्री बद्री पाण्डे र परराष्ट्रमन्त्री डाक्टर आरजु राणाको ध्यानाकर्षण गराएका हुन् । यसअघि बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको समेत ध्यानाकर्षण गराएका थिए ।

श्रम, पर्यटन र परराष्ट्रमन्त्रीलाई एकै ठाउँमा राखेर छलफल समेत गरिएको थियो । छलफलका क्रममा हालको उडान सङ्कटले उत्पन्न गरेको समस्याबारे छलफल भएको थियो ।

छलफलका क्रममा व्यवसायीहरूले ट्राभल एजेन्सीहरूले सिट अभावको बहानामा अत्यधिक भाडा लिएको बताए । सीमित एजेन्सीहरूले मात्रै सिट उपलब्ध गराउने अवस्था सिर्जना गरेर बजारमा कृत्रिम अभाव सिर्जना गरेर टिकटको मूल्यमा कालोबजारी गरिरहेको बताए ।

छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजकत्वमा परराष्ट्र, श्रम, र कानुन मन्त्रालय रहने गरी एक समिति गठन गर्ने आश्वासन दिएका थिए । हाल १० देखि १५ हजार रुपैयाँमा पाइने काठमाडौँ–दिल्लीको हवाई भाडा ७० हजार रुपैयाँसम्म पुगेको छ । त्यस्तै ३० देखि ४० हजार रूपैयाँसम्म पाइने मलेसिया तथा खाडी मुलुकको हवाई भाडा अहिले १ लाखभन्दा माथि पुर्याइएको छ । 

2

शुक्रबार, २३ कार्तिक २०८१, १७ : १८

प्रतिक्रिया