काठमाडौँ - धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा विभिन्न ३४ वटा कम्पनीको २६ अर्ब ९५ करोड ४४ लाख ३७ हजार २३३ रुपैयाँको १६ करोड ५ लाख ३४ हजार ४७ कित्ता सेयर अन्यौलमा परेको छ ।
अध्यक्षबिहीन भएको १० महिना सकिन लाग्दा पनि बोर्डले नँया अध्यक्ष पाउन सकेको छैन् ।धितोपत्र बोर्डमा अहिले अर्थ मन्त्रालयका सहसचिव महेश बराल अध्यक्षको रुपमा रहेका छन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था रहेको छ । उनी बोर्डको अध्यक्ष नियुक्ति नहुन्जेलका लागिमात्र अध्यक्षको भूमिकामा रहेका कारण विभिन्न कम्पनीका आइएपीओ निस्कासनको निर्णय अन्यौलमा परेका हुन् ।
बोर्डको पछिल्लो तथ्यांक अनुसार धितोपत्र बोर्डमा ३४ कम्पनी १६ करोड ९१ लाख ७८ हजार ८७ कित्ता आईपीओ निष्कासन अनुमतिको पर्खाइमा छन् । यी कम्पनीमध्ये सबैभन्दा बढी हाइड्रोवार कम्पनी छन् । हाइड्रोवार समूहका १७ कम्पनी बोर्डमा आईपीओ निष्कासनको पर्खाइमा छन् भने ९ वटा ‘अन्य’ समूहका कम्पनी आईपीओ निष्कासनको पर्खाइमा छन् ।
त्यसको कुल मूल्य भने २६ अर्ब ९८ करोड ५६ लाख २५ हजार रुपियाँ रहेको छ । यी मध्ये पनि स्वीकृतिको पर्खाइमा रहेका फाइलहरुमा अधिकांश जलविद्युत् कम्पनीहरुको आईपीओ रहेको छ । गत पुष २० गते रमेश हमालको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले खुला आवेदन माग गरेको थियो । तर, विवादका कारण नयाँ अध्यक्ष नियुक्ति हुन सकेको छैन् ।
कम्पनीले सर्वसाधारणबाट पुँजी संकलनका लागि आईपीओ निष्कासन गर्दछ। यस्तो सेयरको मूल्य साधारणतया १०० रूपैयाँ प्रतिकित्ता तय गरिएको हुन्छ। आईपीओ खुलेका समय सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्छन्। कुनै कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्दा अंकित मूल्य १०० रूपैयाँभन्दा धेरै पनि तोक्न पाउँछ। यसकारण कतिपय कम्पनीको मूल्य भने १०० रूपैयाँभन्दा बढी तय गरिएको हुन्छ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओको जोखिम के(कस्तो छ भनेर रेटिङ कम्पनीबाट मूल्यांकन गराएको हुनुपर्छ। नेपालमा केयर रेटिङ नेपाल र इक्रा नेपालले रेटिङको काम गर्दै आएका छन्। यी दुई कम्पनीले आईपीओमा लगानी गर्दा रहने जोखिमका आधारमा रेटिङ प्रदान गर्दछ। यसरी प्रक्रियामा गएका कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाउँछन्।
बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्न पत्रपत्रिकामा सूचना प्रकाशन गर्छ। सूचनामा आवेदन कहिलेदेखि कहिलेसम्म खुलाउने? कति कित्तादेखि कति कित्तासम्म आवेदन दिन पाइने? भन्नेबारे स्पष्ट खुलाइएको हुन्छ।
यो सम्पूर्ण प्रक्रिया पूरा गरेर आईपीओ निष्कासनका लागि अन्तिम स्वीकृतिको लागि धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनी ३४ वटा रहेका छन्। बोर्ड कार्यकारी अध्यक्ष नियुक्ति हुने बित्तिकै पनि कम्पनीका फाइल अगाडि बढ्दैनन् । यसका उदाहरण एक्कर्ड फर्मास्यूटिकल्स र ट्रड टावर हुन् ।
यी कम्पनीले दुई वर्षअघि आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका हुन् । एक्कर्ड फर्मास्यूटिकल्सले वि।सं। २०७९ पुस ४ गते बोर्डमा अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका सात लाख ६ हजार ९०९ कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो ।
त्यसैगरी ट्रेड टावरले वि.सं. २०७९ असार १४ गते आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो । यो कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालले अहिले केही कम्पनीलाई एफपीओ र हकप्रद सेयर जारी गर्न अनुमति दिइरहेका छन् ।
आईपीओ निष्काशनको पाइपलाइनमा रहेका कम्पनी
डिस मिडिया नेटवर्क, याम्बालिङ हाइड्रो, एपेक्से हस्पिटालिटी, एसवाई प्यानल, अर्किड होल्डिङ्स, विकास हाइड्रो, रिज लाइन इनर्जी, लाफिङ बुद्ध पावर, ह्याम्स हस्पिटल, सौर्य सिमेन्ट, अन्नपूर्ण केबल कार, बरुण इन्भेष्टमेन्ट, मारुती सिमेन्ट, कालिञ्चोक हाइड्रो, रिलायन्स स्पिनिङ, स्वस्तिक लघुवित्त, हिम रिभर पावर र पियोर इनर्जीले आईपीओ निष्काशन लागि आवेदन दिएका छन् ।
त्यसैगरी बेनी हाइड्रो, एक्कर्ड फर्मास्यूटिकल, ट्रेड टावर, सानिमा हाइड्रो, कान्तिपुर टेलिभिजन, आईएमई लिमिटेड, भुजुङ हाइड्रो, जगदम्बा स्टिल, सोलु हाइड्रो, सान्भी इनर्जी, हिमस्टार उर्जा, रिचेत जलविद्युत, होटल फरेस्ट, माबिलुङ इनर्जी, टक्सार पिखुवाखोला हाइड्रो र दरम खोला हाइड्रो आईपीओ निष्काशनको पाइपलाइनमा रहेका छन् ।
प्रतिक्रिया