सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः शुरु

विहीबार, २९ कार्तिक २०८१, १३ : ०५

काठमाडौँ - नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया पुनः शुरु भएको छ ।  

यस अघि स्थगित गरिएको सर्टलिस्टमा परेका उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता फेरि अगाडि बढ्ने भएको हो। नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ र सेबोनका कार्यकारी निर्देशक नवराज अधिकारीलाई व्यावसायिक कार्य योजना प्रस्तुतीकरण सहित अन्तरवार्तामा बोलाइएको छ ।

गत असोज १८ गतेका दिन उनीहरूलाई अन्तरवार्तामा सहभागी गराउने तयारी भए पनि अन्तिम समयमा सो प्रक्रिया स्थगित गरिएको थियो । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तीन आवेदकलाई पुनः बोलाएको हो । बोर्डका अनुसार अन्तर्वार्ता बिहान ८ बजेदेखि अर्थ मन्त्रालय सिंहदरबारमा शुरु हुनेछ । 

अघिल्लो समितिले अघि बढाएको अध्यक्ष छनोट प्रक्रियमा सर्टलिस्टमा परेका ५ जनामध्ये बाँकी ३ जना उम्मेदवारलाई यसअघि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतका लागि सिंहदरबार बोलाइएको थियो । तर, बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीसहित तीनै जना उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण रोकिएको थियो । 

विहीबार, २९ कार्तिक २०८१, १३ : ०५

प्रतिक्रिया