काठमाडौँ- पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले शनिबार पोखरामा ‘टीकामाया–बलराम सारङ्गी साँझ’ आयोजना गरिएको थियो । सारङ्गी साँझमा करिब ५ दशकदेखि लोकगायनमा समर्पित दम्पत्ती टीकामाया गायक र बलराम गायकलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।
उनीहरूलाई लोकगायिका हरिदेवी कोइरालाले नगद र सम्मानपत्र प्रदान गरेकी हुन् । उनीहरूलाई दर्शकले तालि बजाएर अभिनन्दन गरेका थिए । समाजमा योगदान पुर्याएका भुइँमान्छेलाई सम्मान गर्ने अभियानस्वरुप यो दम्पत्तीलाई रोजिएको सारङ्गी साँझका संयोजक पत्रकार अमृत भादगाउँलेले बताए । ‘योगदानको जीवन बाँचेका तर पछिल्लो समय कसैले पनि नसम्झिएका प्रतिभाको मुहारमा खुसी ल्याउने प्रयास गरेका हौँ’, उनले भने, ‘हामी सबै मिलेर यस्ता प्रतिभालाई उजागर गर्ने अभियान चलाऔँ ।’
कार्यक्रममा साहित्यकार सुरज उपाध्याय, सामाजिक अभियन्ता प्रकाश गुरुङ र लोकगायिका कोइरालाले लोक संस्कृतिका साधकहरूको सम्मानले समाजमा सत्कर्म गर्नेहरूको हौसला बढ्ने बताए ।
कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो । पहिलो चरणमा सम्मान अर्पण गरिएको थियो भने दोस्रो चरणमा गन्धर्व दम्पत्तीले सारङ्गीको धुनसँगै जिन्दगीका कथा सुनाएका थिए । पत्रकार दीपक परियारले सहजीकरण गरेको दोस्रो चरणमा उनीहरूले ‘अमिलीको रस, दोभानमा बिजुली दाइँसाहिँला नौडाँडामा बस’, ‘काँचो सुन्तला, नटिपे यो चाला टिपे कुन चाला’, ‘रेशम फिरिरी’ लगायत केही गीत गाएका थिए ।
को हुन् टीकामाया र बलराम ?
पोखराको कालिकानगरमा बसोबास गर्दै आएका लोकगायक दम्पत्ती टीकामाया र बलराम दुवैजना ५८ वर्षका भए । दुवैले करिब ५ दशकदेखि सारङ्गी रेट्दै आएका छन् । सारङ्गीको धुनसँगै उनीहरू लोकगीत, कर्खा र घटना गाउँदै गाउँघर डुल्छन् ।
भोजपुरमा जन्मिएकी टीकामाया विद्रोही नारी हुन् । महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने त्यतिबेलाको परम्परागत मान्यतालाई तोडेर उनले ५ वर्षकै उमेरमा सारङ्गी वादन सुरु गरेकी थिइन् । सारङ्गी बजाएर सार्वजनिक रूपमा हिँड्ने पहिलो महिला त उनी हुँदै हुन्, रेडियो नेपालमा गीत रेकर्ड गराउने पहिलो गन्धर्व महिलाको इतिहास पनि टीकामायाले नै रचेकी छिन् । ३० को दशकमा टीकामायोका स्वरमा ‘अमिलीको रस’ बोलको गीत रेकर्ड भएको थियो ।
कालिकानगरका बलराम पनि सानैदेखि सारङ्गी बजाउँथे । उनको स्वरमा पनि तीन ओटा गीत रेकर्ड भएका छन् । आज पनि यो दम्पत्ती सारङ्गी बजाउँदै गाउँघर डुल्छन् । दुवै जना १३ वर्षको हुँदा पृथ्वी राजमार्गको जक्सन मुगलिनमा भेट भएको थियो । त्यहीँबाट प्रेम अँकुराएपछि उनीहरूले गीत गाउँदै पूर्वी नेपालको यात्रा गरेका थिए । छिमेकी मुलुकको खर्साङ रेडियोमा पनि केही वर्ष सारङ्गी बजाएका थिए । उक्त कार्यक्रममा टीकामाया दम्पत्तीका नातीहरू संयोग र संगमले पनि गीत गाएर सुनाएका थिए ।
प्रतिक्रिया