थांकाबाट वार्षिक १५ लाख आम्दानी

विहीबार, १३ मंसिर २०८१, ०८ : ४१

सुनसरी- बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थांका बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आएका छन् । विगत २० वर्षदेखि थांका बनाउँदै आएका उनले थांकालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन् । उनि भन्छन्, “बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ ।”

नेपालमा प्रशस्त गुम्बा नहुँदा काठमाडौंका साथै चीनको तिब्बत, हङकङ, सिङ्गापुर, अमेरिकालगायत देशमा थांका बिक्री हुने गरेको छ । थांका चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका उनले सुनाए । विदेशीले थांका चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उनले बताए । उनले १० जनालाई रोजगारी पनि दिएका छन् । उनिसँग थांका बनाउन सिकेकाहरू वैदेशिक रोजगारीमा गएका छन्, जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उनले सुनाए । एउटा थांका चित्र बनाएर पहिलोपटक रु ५० हजारमा बिक्री गरेपछि व्यावसायिक रुपमा काम थालेका उनले रु चार हजारदेखि रु पाँच लाखसम्मका थांका बिक्री गर्दै आएका छन् ।

रासस

विहीबार, १३ मंसिर २०८१, ०८ : ४१

प्रतिक्रिया