काठमाडौं- सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्र बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आजदेखि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र निष्कासन तथा बिक्री गर्न लागेको हो ।
कार्यालयले पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचत पत्र–२०८६ निष्कासन गर्न लागेको हो ।
बचत पत्र आजदेखि पुस १४ सम्म खुला रहनेछ । कार्यालयले वार्षिक ८.५ प्रतिशत ब्याजदर रहेको बचत पत्र न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरेको रकमसम्म लगानीकर्ताले खरिद गर्न पाउनेछन् ।
बचत पत्रमा वैदेशिक रोजगारी गरिरहेका, नेपाल फर्केको ६ महिना नबितेका, गैर आवासीय नेपाली र तिनका परिवारले लगानी गर्न पाउने छन् । बचत पत्रमा लगानी गर्नेले अर्धवाषिर्क रूपमा ब्याज भुक्तानी पाउनेछन् ।
त्यस्तै, बचत पत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र जुनसुकै बेला दोस्रो बजारमार्फत खरिदबिक्रीसमेत गर्न सकिने कार्यालयले जनाएको छ । सरकारले आन्तरिक ऋण उठाउने एक माध्यमको रूपमा बचत पत्र उपकरणको प्रयोग गर्ने गर्दछ ।
प्रतिक्रिया