भरतपुरमा सार्वजनिक सुनुवाई, गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन

शुक्रबार, १४ मंसिर २०८१, १६ : २८

काठमाडौं - भरतपुर महानगरपालिको आयोजनामा शुक्रवार आर्थिक वर्ष ०८१\८२ को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गरिन् । भरतपुरमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीव्र रूपमा अघि बढेको बताइन् । रंगशालाको काम अहिले १२ प्रतिशत पुरा भइसकेको छ ।

भ्रष्टाचार विरुदको अभियान चितवनको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए ।

सहभागीहरूले ६ लेन सडकमा ट्राफिक लाईट राख्नुपर्ने, फोहर व्यवस्थापन, घरबाहल कर, ड्रेनको निर्माण, भरतपुरका सडकको मापदण्ड, विमानस्थलको विस्तारलगायतका प्रश्न सोधेका थिए। सहभागीहरूले गुनासो तथा सुझावहरूको  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी लगायतले जवाफ दिएका थिए।

भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुरमा मुख्य चोकमा ५ वटा ट्राफिक लाईट राख्ने कार्यलाई अगाडि बढाइएको बताइन् । यस्तै उनले संघीय खानेपानी तथा सरसफाइ योजनाबाट हुन लागेको ३ अर्बको योजनाको डिपिआर बन्ने अन्तिम चरणमा रहेको उल्लेख गरिन्।भरतपुरलाई सौन्दर्यकरण गर्न मापदण्ड विपरीतका संरचना भत्काउने कार्य निरन्तर रूपमा अघि बढिरहने उनको भनाई थियो ।

महानगरपालिकाको आन्तरिक आय कम हुँदा हुँदै पनि सक्रिय पहल र समन्वयमा ठुला ठुला विकास निर्माणका कार्यहरू अगाडि बढाउन सकिएको उल्लेख गरिन् । ६ लेन सडक निर्माण भए पश्चात् सर्भिस लेनमा पाकिङ हुने समस्या हटेर जाने विश्वास व्यक्त गरिन् । यसका लागि कार्यदल बनाएर काम भइरहेको जानकारी दिइन् ।

मेयर दाहालले कुनै पनि कुरामा गुनासो नआउने गरी काम अगाडि बढाउन सम्बन्धित महाशाखा, शाखाका कर्मचारीहरूलाई निर्देशन समेत दिइन् । उनले महानगरपालिकाको कामलाई छिटो छरिदो बनाउन नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको पनि प्रस्ट पारिन् ।

कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, चितवन प्रहरी प्रमुख गौतम मिश्रको उपस्थिति रहेको थियो ।

 

.

शुक्रबार, १४ मंसिर २०८१, १६ : २८

प्रतिक्रिया