स्थानीय तह उपनिर्वाचन

४१ पदका लागि बिहानै ७ बजेबाट मतदान शुरु

आइतबार, १६ मंसिर २०८१, ०७ : २०

काठमाडौं- स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि उपनिर्वाचनको मतदान बिहानै ७ बजेबाट शुरु भएको छ । अबदेखि साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भई मतदान शुरु भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।

निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भएर मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आइतबार, १६ मंसिर २०८१, ०७ : २०

प्रतिक्रिया