चलचित्र ‘ह्रस्व दीर्घ’ को अहिले सम्मको ग्रस कमाई कति ?

आइतबार, १६ मंसिर २०८१, १० : २५

काठमाडौं- कात्तिक ३० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको दुई हप्ता पूरा गरेको छ । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीको निर्माण तथा शीर्ष भूमिका रहेको सिनेमाले तेस्रो हप्ता सुरु गरेसँगै दुई हप्तासम्ममा ८ करोड ५२ लाख ग्रस कमाई गरेको निर्माण पक्षले दाबी गरेको छ ।

चलचित्रले प्रदर्शनको पहिलो हप्तामा ५ करोड ५४ लाख ग्रस कमाई गरेको थियो । दोस्रो हप्तामा भने करिब २ करोड ९८ लाख कमाएको छ । यो कमाई ‘ग्रस’ भएको हुँदा हलको हिस्सा र वितरकको कमिसन कटौती गरेपछि निर्माताको हातमा करिब ४.५ करोड रहने अनुमान छ ।

चलचित्रले तेस्रो हप्तामा देशभर करिब ५० शो पाएको छ । प्रदर्शनको समय लम्बिँदै जाँदा अकुपेन्सीमा भने कमी देखिएको छ । अन्य सहरहरूसँग तुलना गर्दा नेपालगन्ज र दाङ क्षेत्रमा सिनेमाको व्यापार अझै राम्रो रहेको बताइएको छ ।

६ करोड रुपैयाँको लागतमा निर्माण भएको सिनेमाले नेपालमा मात्र ‘हिट’ बन्नका लागि कम्तीमा १२ करोड ग्रस कमाई गर्नुपर्ने छ। निर्माता पक्षका अनुसार फिल्मले प्रदर्शनको पहिलो हप्तामै आफ्नो लगानी सुरक्षित गरेको छ ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको यस चलचित्रमा नेपाली र दक्षिण भारतीय कलाकारहरूको विशेष भूमिकामा अभिनय रहेको छ । सिनेमामा भारतबाट प्रदीप रावत, ब्रह्मानन्दम, सुनिल बर्मा, अली र कबीर दुहन सिंह तथा नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, रेखा थापा, सञ्चिता लुइँटेल, आदर्श मिश्रलगायतको अभिनय रहेको छ ।

यो सिनेमालाई बलिउडका चर्चित छायाँकार कवीरलालले छायांकन गरेका हुन् ।

आइतबार, १६ मंसिर २०८१, १० : २५

प्रतिक्रिया