बेमौसमी तरकारी उत्पादनमा रमाएका चौधरी, काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी

आइतबार, १६ मंसिर २०८१, १३ : ४४

कैलाली- बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गरेका छन् । तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गरेका हुन् । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताए । काँक्रा प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री हुँदै आएको छ । काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् । बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ ।

“स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्”, चौधरीले भने, “व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पुर्याएर बिक्री गरिँदै आएको छ ।” अझै बारीमा रु एक लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उनले बताए । गत वर्ष उनले रु दुई लाख मूल्यका बेमौसमी काँक्रा बिक्री गरेका थिए । पिपलाडी गाउँमा व्यावसायिक तरकारीखेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रा उत्पादन गर्नेमा चौधरी एक्ला किसानका रुपमा रहेका छन् ।

बेमौसमी काँक्राखेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएको चौधरी बताउँछन् । भारतीय तरकारीखेती गर्ने व्यक्तिहरुबाट चौधरीले बेमौसमी तरकारीखेती गर्ने तौरतरिका सिकेको बताउँछन् । काँक्रासँगै चौधरीले लौका, भन्टा, खुर्सानी, तितेकरेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडीलगायतको खेती गर्छन् । काँक्राखेतीबाट रु तीन लाख र अन्य तरकारीखेती गरी वर्षमा उनले रु सात लाखदेखि रु १० लाखसम्मको आम्दानी गर्दै आएका छन् । तरकारीखेती गरी आएको आम्दानीबाट चौधरीले छोरालाई काठमाडौँमा डेरामा राखेर मेकानिकल इञ्जिनियर पढाउँदै आएका छन् ।

उनले छोरीलाई महेन्द्रनगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आएका छन् । “तरकारीखेतीबाट आएको आम्दानीमध्ये केही छोराछोरीका लागि खर्च हुन्छ”, चौधरीले भने, “बाँकी रहेको रकम घरखर्चमा सकिन्छ ।” पिपलाडी गाउँमा तरकारीखेतीमा ५० बढी परिवार संलग्न रहेका छन् । त्यसमध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ । चौधरी एक दशकअघिदेखि तरकारीखेतीमा लगनशिल रहँदै आएका छन् । व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिलेसम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गरे ।

आइतबार, १६ मंसिर २०८१, १३ : ४४

प्रतिक्रिया