उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुने

बुधबार, २६ मंसिर २०८१, १० : ०३

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पुन : प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुने भएको छ। 

महासंघले वरिष्ठ उपाध्यक्ष स्वतस् अध्यक्ष हुने व्यवस्थालाई संशोधन गर्दै प्रत्यक्ष निर्वाचबाटै छनोट गर्ने व्यवस्था विशेष साधारणसभाबाट पारित गरेको छ। मंगलबार काठमाडौंमा सम्पन्न महासंघको विशेष सधारण सभाले विधान संशोधनको प्रस्ताव पारित गरेको छ।  

महासंघको जेठ २० गतेको स्थायी समिति र असार २४ गतेको सातौं कार्यकारिणी समिति बैठकले विधान संशोधनको मस्यौदा सर्वसम्मतरूपमा पारित गरेको थियो। अहिलेका वरिष्ठ उपाध्यक्ष स्वतस् अध्यक्ष भए पनि अर्को कार्यकालबाट प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष चयन गर्ने प्रस्ताव अनुमोदन भएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।  

संशोधित विधान अनुसार अब एकजना महिलासहित पाँचजना उपाध्यक्ष हुने भएका छन्। जसमा जिल्ला नगरतर्फ दुई, एसोसिएट एक, वस्तुगत एक र महिला एकजना उपाध्यक्ष हुने व्यवस्था गरिएको छ। अब कार्यसमितिको कार्यकाल दुई वर्षको हुने भएको छ।

अहिलेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अध्यक्ष भएपछिको कार्यकाल तीन वर्षकै हुनेछ। महासंघका अध्यक्ष ढकालको सक्रियतामा विधान संशोधन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष छनोट हुने व्यवस्था भएको छ।

बुधबार, २६ मंसिर २०८१, १० : ०३

प्रतिक्रिया