बलेफी हाइड्रोपावरले जारी गर्‍यो हकप्रद शेयर

विहीबार, २७ मंसिर २०८१, ०९ : ०५

काठमाडौं- बलेफी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले हाल कायम १ः१ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो । यसर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

विहीबार, २७ मंसिर २०८१, ०९ : ०५

प्रतिक्रिया