पदभार ग्रहणसँगै अध्यक्ष ढकालको प्रतिबद्धता: अबको दुई वर्ष नीतिगत सुधारमा

शुक्रबार, २८ मंसिर २०८१, १२ : २१

काठमाडौं - नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकाल नीतिगत सुधारमा लाग्ने प्रतिविद्धता व्यक्त गरेका छन् ।

उनले अध्यक्षको पदभार ग्रहण गर्दै अहिले धितोपत्र दलाल व्यवसायीका धेरै नीतिगत समस्या रहेको भन्दै अबका दिनमा त्यसलाई सुधार गर्दै व्यवसायी मैत्री वातावरण निर्माण गर्ने बताए । ‘सरकारी नीतिगत झन्झटका कारण हामी व्यवसायीले सरकारले ल्याउने हरेक बजेट र आर्थिक ऐन तथा अन्य नीतिगत परिवर्तनमार्फत समस्याहरू झेल्दै आउनु परेको छ,’ पदभार ग्रहण कार्यक्रममा उनले भने, ‘अबको दुई वर्षमा स्टक ब्रोकर र लगानीकर्ताको समस्याहरू सरकारलाई बुझाएर दिर्धकालिन रूपमै समाधान निकाल्नेछु ।’ 

यसैगरी उनले अहिले नेपाली पुँजी बजारमा सेयर खरिदबिक्रीमा मात्रै सीमित रहेको भन्दै अबका दिनमा नेपाल धितोपत्र बोर्ड र सरकारसँगको सहकार्यमा मार्जिन ट्रेडिङ्ग, इन्ट्रा डे तथा सर्ट सेलिङ्ग एवं इक्विटि डेरिभेटिभ साथै अन्य वित्तीय औजारहरू कार्यान्वयनमा ल्याउने समेत जानकारी दिए ।

‘धितोपत्र दलाल व्यवसायीहरू लगानी व्यवस्थापन सेवा, लगानी एड्भाइजरी सेवा, मार्जिन लेण्डिङ्ग सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रुपमा समेत सक्षम छन्,’ उनले भने, । साथै अहिले लगानीकर्ताले २ वटा मात्र डिम्याट खाता खोली शेयर कारोबार गर्न पाउने व्यवस्था रहेकोमा अबका दिनमा त्यसलाई हटाउँदै आवश्यकताको आधारमा खोल्ने पाउने व्यवस्थाका लागि पहल गरिने समेत जानकारी दिए । 

हाल पुँजी बजार अन्तरगत हुने कारोबारमा देखिएको विकृति तथा विसंगतिहरुको न्यूनीकरण सरोकारवाला निकायसँग गरिने भन्दै धितोपत्र दलाल व्यवसायीलाई हेर्ने नजरमा समेत परिवर्तन गर्नु जरुरी रहेको उनको भनाई थियो । ‘अहिले पनि हामी व्यवसायी माथि विभिन्न खालका लान्छानाहरु लाग्दै आएका छन् र बजारले पनि त्यस्तै गरी हेरिरहेको छ,’ उनले भने, ‘कतिपय अवस्थामा हामी व्यवसायीहरू सुध्रिनुपर्ने जरुरी छ भने कतिपय हाम्रा समस्याहरूको बारेमा अन्य निकायलाई बुझाउँदै सुधार गर्नुपर्नेछ ।’ 

यसैगरी धितोपत्र दलाल व्यवसायी कम्पनीका शेयरधनीहरुलाई डिस्क्लोजर सहित आफ्नै संस्थाबाट शेयर खरिदबिक्री गर्न पाउने व्यवस्था लागू गर्न सम्बन्धित निकायसँग पहल गरिने समेत उनको भनाई थियो । साथै अहिले ब्रोकर कम्पनीहरूले नेपाल स्टक एक्सचेन्ज समक्ष बैंक ग्यारेन्टी राखी सोको २५ गुणा सम्म कारोबार लिमिट प्राप्त गरिरहेकोमा अबका दिनमा यस्तो सीमालाई ५० गुणासम्म बनाउनका लागि सम्बन्धित निकायसँग लविङ गरिने समेत जानकारी दिए ।

यसैगरी अहिले नेपाल उद्योग वाणिज्य महासंघ लगायत अन्य व्यवसायीक संस्थाको कार्ड बोकेर सिंहदरबार लगायत सरकारी निकायमा सहज रुपमा प्रवेश पाई रहेको भन्दै केही समयभित्र स्टक ब्रोकर एशोसिएशनले जारी गरेको कार्ड देखाएर त्यस्ता निकायमा सहजै प्रवेश गर्न पाउने व्यवस्था गरिने समेत उनको भनाई थियो ।

शुक्रबार, २८ मंसिर २०८१, १२ : २१

प्रतिक्रिया