अभिमुखीकरण तालिममा आईरिस प्रणाली लागू गर्दै वैदेशिक रोजगार विभाग

आइतबार, ३० मंसिर २०८१, १५ : २३

काठमाडौं - वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानु पुर्व दिइने अभिमुखीकरण तालिममा ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ सिष्टम लागु गर्ने भएको छ ।

विभागले आगामी ३ पुसपछि अभिमुखीकरण तालिममा यो प्रणाली लागु गर्ने भएको हो । वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व प्रस्थान अभिमुखीकरण तालिमका लागि हाल बायोमेट्रिक प्रणालीमार्फत हाजिरी गरिँदै आएको छ ।

बायोमेट्रिकका कारण अनियमितता बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईरिस सिस्टम लागू गर्ने निर्णय गरेको थियो । विभागले यसअघि गत असोज २९ गतेदेखि आईरिस सिस्टम लागू गर्ने बताएको थियो । तर, उक्त मितिमा लागू हुन सकेन ।

विभागले आईरिस सिस्टमलाई राष्ट्रिय परिचयपत्रसँग जोडेको छ । जसले गर्दा हालसम्म हुँदै आएका अनियमितमा पूर्ण रोक लाग्ने विभागको अपेक्षा छ । हाल १४३ अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलाई वैदेशिक रोजगारीमा उड्नु अगाडि अभिमुखीकरण तालिम दिने गरेका छन् ।

नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घले व्यवसायीले झन्डै १३ करोड खर्च गरेर थप भौतिक पूर्वाधारसहितका उपकरण जडान गरेको जनाएको छ ।

आइतबार, ३० मंसिर २०८१, १५ : २३

प्रतिक्रिया