काठमाडौं - एक वर्षको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८९६ अंकले वृद्धि भएको छ । २०८० कात्तिक मसान्तमा १८५२.०९ रहेको नेप्से सूचकाङ्क २०८१ कात्तिक मसान्तसम्म आइपुग्दा २७४८.७९ कायम भएको हो ।
२०८० कात्तिक मसान्तसम्म जम्मा २८ खर्ब ५३ अर्ब एक करोड रहेको शेयर बजार पुँजीकरण २०८१ कात्तिक मसान्तमा आइपुग्दा १५ खर्ब २३ अर्बले बढ्दै ४३ खर्ब ७६ अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको कात्तिक मसान्तमा २८५३ अर्ब १ करोड रहेको नेप्सेको शेयर पुँजीकरण चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा ४३७६ अर्ब ९० करोड पुगेको हो ।
सूचीकृत कम्पनीहरूमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २६४ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ ।
त्यसै गरी, जलविद्युत् कम्पनीको हिस्सा १५.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.२ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ कात्तिक मसान्तमा सूचीकृत ८ अर्ब ४६ करोड शेयरको चुक्ता मूल्य रु.८ खर्ब ३४ अर्ब ७४ करोड रहेको छ । आर्थिक वर्ष २०८१\८२ को चार महिनामा रु.३ अर्ब ९१ करोड बराबरको हकप्रद शेयर, रु.३ अर्ब ६७ करोड बराबरको बोनस शेयर र रु.४७ लाख बराबरको एफपीओ गरी कुल रु.७ अर्ब ५८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपाल धितो पत्र बोर्डले ५ अर्ब ८९ करोड बराबरको हकप्रद शेयर, १ अर्ब ९० करोड बराबरको म्युचुअल फन्ड सार्वजनिक निष्कासनका लागि अनुमति दिएको थियो ।
प्रतिक्रिया