काठमाडौं - बिहीबार दोस्रो बजारमा सूचीकृत १३ कम्पनीहरुले लाभांश तथा साधारण सभा सम्बन्धी घोषणा भएका छन् ।
यसरी निर्णय गर्ने कम्पनीहरूमा शिवम् सिमेन्ट, विजय लघुवित्त, कृषि विकास बैंक, माउन्टेन हाइड्रो, राप्ती हाइड्रो, मञ्जुश्री फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, सर्वोत्तम सिमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।
शिवम् सिमेन्टले ८.५५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । शिवमले यही पुस २९ गते बिहान ९ बजो राष्ट्रिय सभागृहमा बस्ने गरी साधारण सभा बोलाएको छ । यसका लागि पुस १७ गते बुक क्लोजको मिति तय गरिएको छ । सर्वोत्तम सिमेन्टले यो वर्ष ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त कम्पनीले पुस २६ गते भैरहवास्थित एक होटलमा बस्ने गरी साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि पुस १२ गतेलाई बुक क्लोजको मिति तय गरिएको छ ।
मञ्जुश्री फाइनान्सले पुस २८ गतेका लागि साधारण सभा बोलाएको छ । यसअघि नै ६.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको कम्पनीले साधारण सभा बोलाउँदै पुस ११ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।
बुटवल पावर कम्पनीले पनि पुस २८ का लागि साधारण सभा बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले पुस १७ गतेका लागि बुक क्लोजको मिति समेत तोकेको छ । कम्पनीले यसअघि नै ५ प्रतिशत नगद लाभांशको घोषणा गरिसकेको छ ।
कृषि विकास बैंकको लाभांश घोषणा भएको छ । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । बैंकले साधारण सभाको मिति घोषणा गर्न बाँकी छ ।
माउन्टेन हाइड्रोले यस पटक कुनै पनि लाभांश घोषणा नगरी साधारण सभा बोलाएको छ । उक्त कम्पनीले पुस २४ गतेका लागि साधारण सभा बोलाएको हो । यसका लागि पुस ११ गतेका लागि बुक क्लोजको मिति तोकिएको छ ।
विजय लघुवित्तले पनि यस पटक कुनै लाभांश घोषणा गरेको छैन । बुधवार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश बिना नै साधारण सभा बोलाउने गरी राष्ट्र बैंकको स्वीकृति लिने निर्णय गरेको हो ।
गणपति लघुवित्तले पनि यस पटक कुनै पनि लाभांश नदिने भएको छ । यो प्रस्तावसँगै साधारण सभा बोलाउन बैंकले राष्ट्र बैंकबाट स्वीकृति लिनेछ । प्रादेशिक स्तरको विकास बैंकको रुपमा रहेको कर्पोरेट डेभलपमेन्ट बैंकले यस पटक कुनै पनि लाभांश नदिने प्रस्ताव गर्दै साधारण सभा बोलाउन बैंकले राष्ट्र बैंकबाट स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको जनाएको छ ।
कम्पनी ऐनको व्यवस्था बमोजिम प्रत्येक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारण सभा गरिसक्नुपर्छ । साधारण सभा भन्दा कम्तीमा २१ दिनअघि साधारण सभा आह्वान गर्नुपर्ने भएकोले लाभांश घोषणा तथा साधारण सभा आह्वानको क्रम बढ्दै गएको छ ।
प्रतिक्रिया