कामको खोजीमा ५ महिनामा विदेशिए ३ लाख नेपाली

आइतबार, ०७ पुस २०८१, १३ : ४६

काठमाडौं- कामको खोजीमा विदेशिनेको संख्या डरलाग्दो तरिकाले बढिरहेको तथ्यांकले देखाएको छ। 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत साउनदेखि मंसिरसम्म (पाँच महिना) को अवधिमा  मात्र कामको खोजीमा ३ लाख १७ हजार युवा विदेश पसेका छन्। मंसिरमा मात्र ८३ हजार ९ सय ३३ जना युवा कामको खोजीमा ९६ देश पुगेका ह्न् । 

मंसिरमा व्यक्तिगत र संस्थागत गरी ७० हजार ५ सय पुरुष र १३ हजार ४ सय ३३ जना महिला वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर ९६ देश पुगेको विभागको तथ्यांकमा उल्लेख छ। गत वर्षको मंसिरमा ७१ हजार २७६ जना वैदेशिक रोजगारीमा गएका थिए। गत वर्षको तुलनामा यस वर्ष १२ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका हुन्।

गत साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३४ र कात्तिकमा ७० हजार ९ सय ९० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा गएकामध्ये ८५ प्रतिशतभन्दा बढी खाडीदेश गएको पनि तथ्यांक छ।

गत आर्थिक वर्षमा ७ लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले  जानकारी दिएको छ।

यस्तै गत पाँच महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। गत वर्षको तुलना यस अवधिमा रेमिटेन्समा ९.१ प्रतिशत को वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ।

आइतबार, ०७ पुस २०८१, १३ : ४६

प्रतिक्रिया