काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरू यति बेला धमाधम साधारण सभामा जुटेका छन् ।
बुक क्लोजको अघिल्लो दिनसम्म सेयर होल्ड गरेका वा खरिद गरेका लगानीकर्ता लाभांशका लागि र साधारण सभामा भाग लिन हकदार हुन्छन् । यसअनुसार अझै पनि २७ कम्पनीको सेयर खरिद गर्नेले लाभांश पाउने छन्।
नेप्सेमा सूचीकृत २७ कम्पनीहरूमा शेयर खरिद गर्दा प्रस्तावित लाभांश पाइने १० वटा कम्पनीहरु बैंक, विकास बैंक र फाइनान्स अन्तर्गतका रहेका छन् । यी कम्पनीहरूको बुकक्लोज हुन बाँकी रहेको छ । त्यसैले यी कम्पनीहरुको शेयर खरिद गर्दा लाभांश पाइने बाटो खुल्ला रहेको छ ।
कृषि विकास बैंकको शेयर खरिद गर्दा ३ प्रतिशत बोनश र ७.५३ प्रतिशत नगद लाभांश पाउन सक्नेछन् । बैंकले वार्षिक साधारण सभा प्रयोजनार्थ पुस १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । साथै, लक्ष्मी सनराइज बैंकको पाँच प्रतिशत बोनश र ०.२६ प्रतिशत नगद लाभांश पाउन सक्नेछन् । बैंकको बुकक्लोज मिति पुस १७ गते रहेको छ ।
लुम्बिनी विकास बैंकले घोषणा गरेको ३ प्रतिशत बोनश र ४ प्रतिशत नगद लाभांश प्राप्त गर्नको लागि पुस १८ गतेसम्म शेयर खरिद गर्न सकिने छ । यस बैंकले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यस्तै, अझै पनि शेयर खरिद गर्ने शेयरधनीहरुले गरिमा विकास बैंकको पाँच प्रतिशत नगद लाभांश, ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत बोनश शेयर र ०.३ प्रतिशत नगद लाभांश, सांग्रीला विकास बैंकको ३.६५ प्रतिशत बोनश र ०.१९ प्रतिशत नगद लाभांश पाउन सक्नेछन् ।
महालक्ष्मी विकास बैंकले घोषणा गरेको कुल ७ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ९.१० प्रतिशत, आइसीएफसी फाइनान्सको ५.२६ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको १.९५ प्रतिशत लाभांश प्राप्त गर्न सकिने भएको छ ।
यस अवधिसम्म आत्मनिर्भर लघुवित्तको १४.९० प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको १५ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ८ प्रतिशत, डिप्रोक्स लघुवित्त र कालिका लघुवित्तको १० प्रतिशत लाभांश पाउन सक्नेछन् ।
त्यस्तै, छिमेक लघुवित्तको १५ प्रतिशत, साना किसान लघुवित्तको १५ प्रतिशत, जीवन विकास लघुवित्तको १४।७३ प्रतिशत र सूर्योदय वोमी लघुवित्तको ६.९६ प्रतिशत लाभांश पाउने सकिनेछ ।
यस अवधिसम्म चार वटा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद गर्ने लगानीकर्ताहरूले सम्बन्धित बैंकको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।
कालिका पावर कम्पनीले प्रस्ताव गरेको ७.३६ प्रतिशत लाभांश पुस १८ गतेसम्म कायम सेयर धनीले पाउनेछन् । साथै, बुटवल पावरले पाँच प्रतिशत, चिलिमे हाइड्रोपावरले १२ प्रतिशत र युनाइटेड इदी मर्दीले ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
यस अवधिमा नागरिक लगानी कोषको १५ प्रतिशत लाभांश, शिवम् सिमेन्टको नौ प्रतिशत, बोटलर्स नेपाल तराईको ५० प्रतिशत र हिमालयन डिस्टिलरीको २० प्रतिशत लाभांश प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया