काठमाडौं- नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । इन्टनेशनल एजेन्सी फर ‘द’ प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)द्वारा आयोजना हुने ‘इन्साइट लाइभ, नेपाल’ नामक अन्तर्राष्ट्रिय सम्मेलन विसं २०८२ वैशाख १६ देखि १८ गतेसम्म काठमाडौंमा हुन लागेको हो ।
सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आइएपिबीका सदस्य संस्थाका प्रतिनिधि सहभागिता हुनेछन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक सघं र कर्पोरेट संस्था मुख्यतया आइएपिबिका सदस्य रहन्छन् ।
नेपालमा आइएपिबीका सदस्य संस्थामा नेपाल नेत्रज्योति सघं, नेपाल आँखा अस्पताल, तिलगंगा आँखा प्रतिष्ठान र बिपी आई फाउण्डेशन रहेका छन् । विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सघं संस्थाको छाता सङ्गठनका रुपमा रहेको आईएपिबीले अन्तर्राष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ । आँखा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रुपमा सहकार्यलाई प्रवद्र्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने हेतुले हरेक वर्ष विभिन्न देशमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गर्दछ ।
सन् २०२४ को आईएपिबी सम्मेलन मेक्सिकोमा आयोजना गरिएको थियो । आईएपिबीको दक्षिण पूर्वी एसियाकाका अनुसार नेपालमा आयोजना हुने सम्मेलनमा करिब एकसय राष्ट्रका ५०० जनाले सहभागिता जनाउनेछन् । नेपाल नेत्रज्योति सघंका अनुसार उक्त सम्मेलनमा विशेषगरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्यका क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयमा छलफल हुनेछ ।
सम्मेलनले नेपालको आँखा उपचार सेवालाई विश्वव्यापिकरण गर्नुका साथै देशको पर्यटन विकासमा समेत महत्वपूर्ण टेवा पु¥याउने संघले जनाएको छ ।
सघं अन्तर्गत हाल देशभरमा २८ आँखा अस्पताल, एक सय ६० आँखा उपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सघंले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।
प्रतिक्रिया