नुवाकोट- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको अध्यक्षमा पुरुषोत्तम अधिकारी निर्वाचित भएका छन् । अधिकारी नुवाकोट ग्लोरि स्कुलका संचालक हुन् ।
शनिवार विदुरमा भएको प्याब्सन नुवाकोटको ९ औँ अधिवेशनले अधिकारीको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गराएको हो । समितिको उपाध्यक्षमा राजन खतिवडा, सचिवमा रामजी भट्टर कोषाध्यक्षमा रामशरण रिमाल निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा गगन कल्याण प्रधान, यादव अधिकारी र गोबिन्द प्याकुरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा सहभागिहरुले राज्यले सामुदायिक र निजी विद्यालयलाई हेर्ने दृष्टिकोणमा समानता नभएको भन्दै दुख व्यक्त गरेका थिए । उनीहरुले राज्यको सबै नीति नियममा रहेर काम गर्दा समेत राज्यले हेला गरेको अनुभव सुनाएका थिए ।
कार्यक्रममा सहभागीहरुले शिक्षा क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप, शैक्षिक गुणस्तरमा देखिएको ह्रासका कारण गुणस्तरीय शिक्षा लिने नाममा नेपाली विद्यार्थी र पूँजी बाहिरिने क्रम बढेकाले शिक्षा ऐन, कानून तर्जुमा गर्दा यी समस्या समाधानमा ध्यान दिन सरोकारवालाको ध्यानाकर्षण गराए ।
संयुक्त राष्ट्रसंघीय बडापत्र १९८९ मा उल्लेखित ‘राइट टु च्वाइस अफ एजुकेशन’ र नेपालको संविधान धारा ४४ को प्रावधान विपरीत सामुदायिक विद्यालयमा पढ्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना नगर्न उनीहरुले जोड दिए ।
प्रतिक्रिया