न्याय सम्पादनमा मनोवैज्ञानिक दबाब दिँदै पूर्वप्रधानन्यायाधीश श्रेष्ठ, रवि लामिछानेलाई हिरासतमै पुगेर भेटे

मंगलबार, १६ पुस २०८१, १२ : ४४

काठमाडौं- कास्की प्रहरी हिरासतमा पुगेर पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएर न्यायिक प्रक्रिया अघि बढिरहेको बेला श्रेष्ठले कास्की प्रहरीको हिरासतमै पुगेर लामिछानेलाई भेट गरेको खुलेको हो ।

प्रहरी स्रोतका अनुसार यही आइतबार कास्की प्रहरीको हिरासतमै पुगेर पूर्वप्रधानन्यायाधीश श्रेष्ठले लामिछानेलाई भेटेका हुन् ।  प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालय मार्फत लामिछानेविरुद्ध अभियोजन दर्ता गरेसँगै जिल्ला अदालत कास्कीमा कानुनी प्रक्रिया अघि बढिरहेको छ । 

पोखराको सूर्यदर्शन सहकारी ठगीमा लामिछानेसहित  ६३ जनाविरुद्ध दायर गरिएको अभियोजनमा अहिले अदालतमा बयान लिने क्रम चलिरहेको छ । बयान सकिएपछि सुरु हुने थुनछेक बहसले लामिछानेसहित अन्यलाई धरौटीमा वा साधारण तारेखमा छाड्ने या पुर्पक्षका लागि थुनामै पठाउने भन्नेबारे आदेश दिनेछ ।

लामिछानेकै विरुद्ध अदालतमा न्यायिक प्रक्रिया चलिरहेकै बेला प्रधानन्यायाधीश भइसकेको व्यक्तिले हिरासतमै पुगेर उनलाई भेट गर्दा न्याय सम्पादनमा मनोवैज्ञानिक दबाब पर्ने कानुनका जानकारहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी बसन्त शर्मा भने पूर्वप्रधानन्यायाधीश श्रेष्ठले लामिछानेलाई भेट गरेको का विषयमा जानकारी नभएको बताउँदै भेट गर्न आउने सबैको यकिन गर्न नसकिने बताए । प्रहरी हिरासतमा रहेका व्यक्तिलाई रेकर्ड नै नराखेरै भेटाउने गरिएको हो ? भनेर डिएसपी शर्मालाई प्रश्न गर्दा उनले यसबारे बुझ्ने बताए।

 

मंगलबार, १६ पुस २०८१, १२ : ४४

प्रतिक्रिया