काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै तहका सरकारले विकासको नयाँ मोडल दिएर देश विकास गर्न सम्भव छ भन्ने भाष्य स्थापित गर्नुपर्ने बेला आएको बताएका छन् ।
चितवनको भरतपुर महानगरपालिकाले मेघौलीमा आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ लाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । केही समयदेखि मुलुकमा नकारात्मक भाष्य स्थापित गर्न खोजिएको उल्लेख गर्दै उहाँले यसलाई खण्डन गर्न भरतपुर महानगरपालिकाले महत्त्वपूर्ण प्रयास गरिरहेको बताए।
अध्यक्ष प्रचण्डले नेतृत्वले इमानदार भएर काम गर्ने हो भने देशलाई गति दिन सकिन्छ भन्ने यो नमुना भएको बताए । अहिले चितवनबाट विदेश जाने क्रम उल्लेख्य रूपमा कम भएको स्पष्ट गर्दै उनले यसबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सकारात्मक भाष्य स्थापित हुँदै गएको बताए ।
‘आगामी दिनमा देशभरिकै स्थानीय तह, प्रदेश र केन्द्रले पनि विकासमा नयाँ र मौलिक मोडल दिएर देशमा विकास निर्माण र रोजगारी सिर्जना गर्न सम्भव छ भन्ने भाष्य स्थापित गर्न आवश्यक छ’– अध्यक्ष प्रचण्डले भने– ‘स्थानीय समुदायको सहयोग र समर्थन लिएर राजनीतिक नेतृत्वले विकास लगायत हरेक क्षेत्रमा नमुना देखाउन आवश्यक छ । अबको प्रतिस्पर्धा यसमै हुनुपर्छ ।’
चितवनमा भौतिक पूर्वाधार र मानवीय विकास नमुनायोग्य रूपमा भइरहेको उल्लेख गर्दै उहाँले आफू पनि चितवनको नागरिक हुनुको नाताले गौरव महसुस भइरहेको बताए । अध्यक्ष प्रचण्डले अब चितवन बिस्तारै देशभित्र मात्र होइन, विश्व समुदायकै लागि पुग्नुपर्ने ठाउँको रूपमा स्थापित हुने बताए । चितवनमा खेल पूर्वाधारका लागि पनि महत्त्वपूर्ण काम भइरहेको उल्लेख गर्दै उहाँले खेलप्रति देशव्यापीरुपमा देखिएको युवाहरूको क्रेजलाई सम्बोधन गर्न खेल पूर्वाधारमा ध्यान दिनुपर्ने बेला आएको बताए।
आफूले तीन पटक सरकारको नेतृत्व गर्दा जनताले प्रस्टसँग अनुभूति गर्न सक्ने गरी काम गरेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउन र सुशासन स्थापित गर्न सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए। ‘मैले पहिलो कार्यकालमा मध्य पहाडी लोक मार्गको सुरुवात र गरीब किसानको ऋण मिनाह गर्ने निर्णय गरेँ भने दोस्रो कार्यकालमा लोडसेडिङमुक्त नेपालको निर्माण र संविधान कार्यान्वयनको वातावरण बनाएँ’– उनले भने– ‘तेस्रो पटक सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान सुरु गर्ने अवसर प्राप्त गरेँ ।’
एकथरि मान्छेहरुलाई यो अभियान मन नपरेर सरकार ढालिएको उल्लेख गर्दै उनले भने– ‘म अहिले जनताको बीचमा छु, मुलुकमा स्थिरता र विकासको सपनासहित दौडिरहेको छु, आम जनताको साथ सहयोग प्राप्त हुँदै गएको छ । मलाई यो पटक प्रधानमन्त्री भएको बेलामा भन्दा जनताको बीचमा जाँदा सम्मान प्राप्त भएको छ ।’ भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया