काठमाडौं - काठमाडौं विश्वविद्यालय (केयू) ले उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले ‘उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१’ अनुसार १० दिनको समय दिएर आवेदन दिन माग गरेको छ ।
योग्य व्यक्तिहरूले ललितपुरको बालकुमारीमा रहेको स्कुल अफ म्यानेजमेन्टमा आवेदन दिन सक्नेछन् । यसअघि उपकुलपति छान्न काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा प्रा.डा. अर्जुन कार्की र पूर्वशिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।
समितिका अनुसार मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त गरेको व्यक्तिले उपकुलपतिका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै उम्मेदवार कुनै पनि विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई काम गरेको अनुभव र दरखास्त दिनुअघि कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यक्ति हुनुपर्नेछ ।
आगामी माघ ६ गतेदेखि उपकुलपति प्रा.डा.भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेपछि नयाँ प्रक्रिया थालिएको हो ।
प्रतिक्रिया