काठमाडौं- कक्षा २ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिताको दोस्रो चरण भव्य रूपमा सम्पन्न भएको छ ।
नेपालको अग्रणी आईटी तालिम प्रदायक दूरशिक्षाले डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहकार्यमा आयोजना गरेको यस चरणमा ८० विद्यार्थीले भौतिक रूपमा उपस्थित भई प्रतिस्पर्धा गरेका थिए, जसमध्ये विभिन्न विधाबाट ९ जना विद्यार्थी फेब्रुअरी २०२५ मा यूकेमा हुने ग्लोबल कम्पिटिसनका लागि छनोट भएका छन् ।
ग्लोबल कम्पिटिसनमा छानिएका नेपाली विद्यार्थीहरूले अब भारत, हङकङ, मिडल इस्ट, यूके, अमेरिका, अष्ट्रेलिया लगायत देशका सहभागीसँग प्रतिस्पर्धा गर्नेछन् ।दोस्रो चरणको कोडिङ प्रतियोगिताको उद्घाटन सूचना प्रविधिविज्ञ डा. राजीव पाण्डे सुब्बाले गरेका थिए । उनले यस प्रतियोगिताले बालबालिकाको तार्किक सोच, समस्या समाधान क्षमता र डिजिटल सीपलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।
४०० भन्दा बढी विद्यार्थीले अनलाइनबाट परियोजना पठाएकोमा भौतिक प्रतिस्पर्धामा ८० जना छानिएका थिए । यस चरणमा विद्यार्थीहरूले अत्यन्तै प्रभावकारी प्रोजेक्ट तयार पारेको दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले बताए । “यो प्रतियोगिताले सहभागीहरूलाई आफ्नो कोडिङ सीप सुधार्न र समस्याहरूको समाधान गर्ने कुशलता अभिवृद्धि गर्न मद्दत पुर्याएको भने उत्कृष्ट प्रतियोगीलाई विश्वमञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ,” उनले भने ।
यस प्रतियोगितामा कक्षा २ देखि ४ का विद्यार्थीहरूले जुनियर ब्लक(आधारित कोडिङ, कक्षा ५ का विद्यार्थीहरूले सिनियर ब्लक(आधारित कोडिङ र कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले पाइथनमा आधारित रही विभिन्न थिममा प्रोजेक्ट तयार गरेका थिए । कार्यक्रममा ‘गर्ल्स हु कोड’ अभियान समेत सञ्चालन गरिएको थियो, जसले छात्राहरूको सहभागिता अभूतपूर्व रूपमा बढाएको आईसीटी फ्रेमकी अध्यक्ष मिना अर्यालले बताइन् । उनका अनुसार दोस्रो चरणको प्रतिस्पर्धामा ५० प्रतिशतभन्दा बढी छात्राहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिताले बालबालिकाको समस्या समाधान, रचनात्मकता र डिजिटल साक्षरताको विकासमा ठूलो योगदान दिएको भन्दै अभिभावकहरूले पनि खुशी व्यक्त गरेका छन् । “हाम्रो बच्चाले यस्तो ठूलो मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्न पाउँदा गर्व लागेको छ । दूरशिक्षाले यस्तो अवसर प्रदान गरेकोमा धन्यवाद छ,” एक अभिभावकले भने ।
बालबालिकाको डिजिटल सीपको विकास गर्न र प्रविधिमा करियर सुरु गर्ने अवसर दिन यो प्रतियोगिता महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ ।
ग्लोबल प्रतिस्पर्धामा चयन भएका विद्यार्थीहरू यस प्रकार छन् :
प्रतिक्रिया