प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो ।
सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं एकमा आएको थियो । जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताए ।
गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ । स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ ।
‘परम्परागत रोधीको झझल्को आउने गरी गीत बनेको छ’, सपुतले भने, ‘राम्रो प्रतिक्रिया आएको छ, उत्साहित छु ।’ मौलिक शब्द, सङ्गीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाएका छन् ।
म्युजिक भिडियोको कथा, सोच र निर्माणपक्षसमेतले गीतलाई न्याय गरेको छ । लोक दोहोरीमा विशुद्ध मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ । ‘एकदमै रमाइलोका लागि बनाइएको गीत हो’, सपुतले भने, ‘भिडियोमा नयाँपन दिने प्रयास गरेको छु ।’
प्रतिक्रिया