फिल्म ‘कुस्ती’को भेषभूषा पार्टनरमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन

बुधबार, २४ पुस २०८१, १३ : १८

काठमाडौं- कलाकार बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ भेषभूषा पार्टनरको रूपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन जोडिएको छ ।

मङ्गलवार आइआइएफटीका तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र ऊर्जा मानन्धर र फिल्मको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

फिल्म ‘कुस्ती’ मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले लगाउने पहिरनको डिजाइन आइआइएफटीका २४ विद्यार्थीले गर्ने निर्देशक योञ्जनले बताए ।


उनले भने,‘हामीले आइआइएफटीमा अध्ययनरत विद्यार्थीलाई फेशनको माध्यमले फिल्मसँग जोडेका छौँ । उहाँहरूको नवीनतम सोचले हामीले कल्पना गरेको पात्रलाई मूर्तरूप दिनेमा विश्वस्त छौँ ।’

कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीसँग पहिलो पटक सहकार्य गर्न लागेको भन्दै खुसी व्यक्त गरे । उनीहरूले आफ्नो पहिरन बारे विमर्श गर्दै केही पोसाक ट्रायल पनि गरेका छन् ।

आइआइएफटी प्रमुख सन्नी सुब्बाले यो सहकार्यले नयाँ सुरुआत गरेको बताइन । उनले भनिन्, ‘हामीले फेशन र डिजाइन सम्बन्धी विभिन्न शो गरिरहेका छौँ । तर यसपटक आइआइएफटीको नवीनतम सोचलाई दर्शकले पर्दामा हेर्न पाउनु हुनेछ । यसले फिल्ममा कलाकारले प्रयोग गर्ने पोसाक र समग्र फेशनमा बदलाव ल्याउने छ ।’

उक्त अवसरमा निर्देशक अनिल र कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीका विद्यार्थीसँग अन्तरक्रियासमेत गरेका थिए ।

अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरले नै चर्चा पाएको थियो । कलाकारको स्वभावलाई रङ्ग अनुसार प्रस्तुत गरिएका कारण यो नयाँ र फिल्मको थिम अनुसार देखिएको थियो ।अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथामा तयार हुनेछ ।

छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा रहेको फिल्म ‘कुस्ती’ आउँदो फागुन पहिलोसातादेखि छायाङ्कनमा जाने तयारीमा छ ।

बुधबार, २४ पुस २०८१, १३ : १८

प्रतिक्रिया