श्रीमती रिहा भएको एक दिन बित्न नपाउँदै लेखा समिति सभापतिका स्वकीय सचिव पक्राउ

विहीबार, २५ पुस २०८१, १२ : ३४

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको पत्नी धरौटीमा रिहा भए लगत्तै पूर्वस्वकीय सचिव पक्राउ परेका छन् । मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनको आरोपमा मुद्दा दायर भएपछि फरार रहेकी पोखरेल पत्नी अञ्जला कोइराला बुधबार १० लाख धरौटीमा रिहा भएकी थिइन् ।

बुधबार अदालतमा उपस्थित भएकी पोखरेल पत्नीलाई १० लाख धरौटीमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालत मोरङले आदेश दिएको थियो । उनी रिहा भएको एक दिन बित्न नपाउँदै फेरि ठगी आरोपमा फरार रहेका सभापति पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल विराटनगरबाट बिहीबार पक्राउ परेका छन् । 

यो पनि पढ्नुस्

लेखा समितिका सभापति पोखरेल एकपछि अर्को विवादमा, श्रीमतीपछि स्वकीय सचिवको ठगी धन्दा बाहिरियो

पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीका एक स्थानीयसँग ३८ लाख रकम लिएको आरोप लागेको थियो। उनले एमबीबीएसमा नाम ननिक्लिएपछि सो रकम फिर्ता नदिएर उल्टै पीडितलाई पचास लाख आफूबाट ऋण लगेको कागज बनाएर ठगी गरेको विषय सार्वजनिक भएको थियो । त्यस बारे पीडितको उजुरी परेपछि मोरङ जिल्ला अदालतले पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सभापति पोखरेलले आफ्नै स्वकिय सचिव रहेका अनिल पोखरेल ठगीमा संलग्न भएको विषय सार्वजनिक भएपछि  उनलाई पदमुक्त गरेका थिए ।  एमाले मोरङको जिल्ला कमिटी सदस्य रहेका अनिल कुमार पोखरेल लेखा समितिको सभापति भएयता पोखरेलको स्वकिय सचिवको रुपमा कार्यरत थिए । 

यो पनि पढ्नुस्

लेखा समिति सभापति पोखरेललाई तनाव : श्रीमती अदालतमा उपस्थित, स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

विहीबार, २५ पुस २०८१, १२ : ३४

प्रतिक्रिया