पेप्सी उत्पादक कम्पनी बरुण बेभरेजद्वारा आयकर, भ्याट र लाभांश छली, २७ करोड १३ लाख राजस्व चुहावट

शुक्रबार, २६ पुस २०८१, ११ : २५

काठमाडौं- पेप्सी लगायत अन्य पेय पदार्थ उत्पादन गर्दै आएको बरुण बेभरेज(नेपाल)ले करोडौं रकमको मूल्य अभिवृद्धि कर (भ्याट), लाभांश  र आयकर छली गरेको पाइएको छ । हालसालै उच्च अदालत पाटनले यस कम्पनीविरुद्धको फैसलामा २७ करोड १३ लाख बिगो तिराउनुपर्ने फैसला गरेको छ ।

नेपालमा हल्का पेय पदार्थ पेप्सी, माउन्टेन, ड्यु,सेभेन अप, मिरिण्डा र स्लाइस उत्पादन गर्दै आएको यस कम्पनीले आयकर, लाभांश र भ्याटतर्फ करोडौं रकम छली गरेको पाइएको हो । यसअघि बरुण बेभरेज (स्थायी लेखा नम्बर३०००४५४९५) ले सामान नलिई बिजकहरु मात्रै लिएर कर छली गर्ने प्रयोजनका लागि विभिन्न २८ भन्दा बढी नक्कली फर्महरु खडा गरेको विषयमा आजको अर्थले समाचार प्रकाशित गरेको थियो ।

यो पनि 

पेप्सी उत्पादक कम्पनी बरुण बेभरेजको ठगी धन्दाः नक्कली फर्म खडा गरी राजस्व छली

सोही कम्पनीको कर छली विरुद्धमा राजस्व अनुसन्धान विभागले अनुसन्धान प्रतिवेदन तयार गरी अदालतमा मुद्दा दायर गरेपछि कर असुल उपर गर्न जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले आदेश दिएको थियो । राजस्व अनुसन्धान विभागबाट आजको अर्थले प्राप्त गरेको अनुसन्धान प्रतिवेदन अनुसार कम्पनीले २०७०/०७१ मा आयकर र लाभांशतर्फ गरी कूल ४१७१६७८१ रकम बिगो कायम गरिएको छ भने भ्याट छलीतर्फ ६८२३२७६५ जम्मा रकम असुल उपर गर्नुपर्ने देखिएको छ ।

यस्तै, अर्को आर्थिक वर्ष २०७१/०७२ मा आयकरतर्फ र लाभांशतर्फ गरी जम्मा ९९३६२९१५ असुल गर्नुपर्ने बिगो रकम तोकेको छ । आर्थिक वर्ष २०७२/७३ मा आयकर र लाभांशतर्फ गरी जम्मा ८,८५,८६,८३९/– रकम बिगो वापत असुल उपर गर्नुपर्ने राजस्व विभागको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७३/७४ मा  आयकर र लाभांशतर्फ १०,९२,४०,१९७/- रकम बिगो असुल गर्नुपर्ने अनुसन्धान प्रतिवेदनमा देखिएको छ । आर्थिक वर्ष २०७४/७५ आयकर छली र लाभांश छली गरिएको बिगो रकम ५,८३,९२,३६७/– रकम असुल गर्नुपर्ने उल्लेख छ ।

यस्तै आर्थिक वर्ष २०७५/७६ आयकर र लाभांश छलीतर्फ गरी जम्मा २७४५८५२२/– रकम असुल उपर गर्नुपर्ने उल्लेख छ । कम्पनीलाई २०७० देखि २०७६ सम्मको कूल जम्मा आयकर छलीतर्फ असुल गर्नुपर्ने बिगो रकम ३,५५,८३,९,०८०/– तोकिएको छ भने लाभांश छलीतर्फ जम्मा रकम ६,८९,१८,५४२/- र भ्याट छलीतपर्फ ६,७८,१६,४४,५६१/- बिगो रकम कायम गरिएको छ ।

यस कम्पनीका सञ्चालकहरु अमिम गुप्ता, रविकान्त जयपुरिया, नुपिल कुमार गुप्ता, रोहित कोहली, र विनोद सिंहविरुद्ध दायर गरिएको मुद्दामा दोषी ठहर भएपछि उनीहरु कैद जरिवाना र  धरौटीमा रिहा भएका थिए । यीमध्ये रविकान्त जयपुरिया भारतीय नागरिक हुन् । उनी नै बरुण बेभरेज(नेपाल)को समग्र व्यवस्थापन हेर्ने व्यक्ति रहेको राजस्व अनुसन्धान विभागको प्रतिवेदनमा उल्लेख छ । 

 

शुक्रबार, २६ पुस २०८१, ११ : २५

प्रतिक्रिया