होटल तथा रेस्टुरेन्ट क्षेत्रमा नगद कारोबार हराउँदै, क्युआर कोडको प्रयोग तीव्र

सोमबार, २९ पुस २०८१, १२ : १६

काठमाडौं- नेपालको होटल र रेस्टुरेन्ट क्षेत्रमा क्युआर कोडको प्रयोग तीव्र गतिमा बढिरहेको छ। सरकारी तथ्यांकअनुसार, होटल–रेस्टुरेन्टमा आउने १४ प्रतिशत ग्राहकले क्यासलेस कारोबार गरेका छन् । 

राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्भेक्षण २०८०का अनुसार नेपालका ठुला ठुला होटल–रेस्टुरेन्ट देखि गल्लीको चिया पसलमा नगतरहित कारोबार हुने गरेको छ । र पछिल्लो समय क्यासलेस कारोबार दिन प्रति दिन बढ्दै गइरहेको छ । 

नेपालमा क्युआर कोडको प्रयोग तीव्र गतिमा बढिरहेको छ र ग्राहकहरूले स्मार्टफोनको मद्दतले क्युआर कोड स्क्यान गरी आफ्नो बिल भुक्तानी गर्न सक्षम भएका छन्। यसले नगदको प्रयोग घटाउँदै ग्राहकलाई समय बचत गर्न मद्दत पुर्याएको छ। नेपाल सरकारले पनि डिजिटल कारोबारलाई प्राथमिकता दिँदै आएको छ, जसका कारण क्युआर कोड जस्ता डिजिटल भुक्तानी विधिहरूको प्रयोग लोकप्रिय बनेको छ।

नेपालमा आर्थिक वर्ष २०७८/०७९ (२०२०/२१) को जुनरजुलाईमा क्युआर कोडबाट कारोबारको थालनी भएको हो। २०७९/०८० को अवधिमा १४.१ प्रतिशत पाहुनाले नगदबिनै होटल र रेस्टुरेन्टमा सेवा लिएका छन्।

हाल नेपालमा १ लाख ४२ हजार २ सय २३ वटा होटल र रेस्टुरेन्ट रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९/०८०मा गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार  नेपालमा १४.१ प्रतिशतले होटल तथा रेस्टुरेन्टको बिल अनलाइन माध्यमबाट तिर्ने गरेका छन् । 

क्युआर कोडबाट कारोबारको थालनी भएको छोटो समयमै यसको प्रयोगकर्ताको संख्या उल्लेख्य बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । 

सबैभन्दा बढी होटल र रेस्टुरेन्ट भएको बागमती प्रदेशमा २०.७ प्रतिशतले अनलाइन माध्यमबाट कारोबार गर्दै आएका छन्। त्यसै गरी, नगदमार्फत बिल भुक्तानी गर्नेमा सबैभन्दा बढी मधेस प्रदेशमा रहेको पाइन्छ, जहाँ ९२.७ प्रतिशतले नगदको माध्यमबाट बिल भुक्तानी गरेका छन्।

यस्तो छ सातै वटा प्रदेशको तथ्यांक :

Capture

सोमबार, २९ पुस २०८१, १२ : १६

प्रतिक्रिया