काठमाडौं - भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचिकृत गर्न आवश्यक रहेको बताएकी छिन्।
लिःल फङ्ग ९(घले) समाज चितवनले ल्होसारको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले घले समुदायलाई सूचिकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको पनि उल्लेख गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिका सबै जात–जाति, समुदाय, क्षेत्र, वर्ग, संस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढी रहेको उल्लेख गरिन् ।
महानगरपालिकाले आदिवासीमा सूचिकृत गर्न ऐन कानुन हेरेर यहाँको माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। पहिचान र अधिकार प्राप्त गर्न एकजुट भई राज्यका विभिन्न निकायलाई ध्यानाकर्षण गर्नुपर्ने उनको धारणा व्यक्त गरिन्। यो विषयमा एकजुट हुन नसके प्राप्त उपलब्धिहरू गुम्ने र थप अधिकार प्राप्त गर्न असम्भव रहको धारणा राखिन् ।
घले समाजका केन्द्रीय अध्यक्ष दिनेश कुमार घलेले पहिचानको मुद्दालाई अझ सशक्त बनाउनुपर्ने उल्लेख गरिन् । नेपालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि विभिन्न आदिवासी जनजातिहरू सूचिकृत हुने क्रममा घलेहरूलाई छुटाइएको अध्यक्ष दिनेश घलेको दाबी छ ।
‘हामीलाई कतै तामाङकरण गरियो, कतै मगरकरण गरियो, कतै गुरुङकरण गरियो’ लिःल फङका अध्यक्ष घलेले भने ‘हाम्रो पहिचान मेटाउन पहिचानवादी भनिएकाहरू नै एकजुट भए ।’ घलेलाई गुरुङ नै भनेर धेरैले बुझे पनि आफूहरू गुरुङ नभएको अध्यक्ष घलेले बताए । घलेहरूको बसोबास पूर्वको संखुवासभादेखि पश्चिम बाग्लुङसम्म २५ जिल्लामा रहेको छ ।
नेपालको प्राचीन इतिहास देखिनै आफ्नै भाषा,संस्कृति र लिपी रहेको आदिवासी जनजाति समुदाय घलेलाई गत वर्ष सम्पन्न स्थानीय चुनावमा अल्पसंख्यक आदिवासीको मान्यता सरकारले दिएको थियो । ०६८ सालको जनगणना अनुसार करिब २३ हजार जनसंख्या रहेको घलेलाई आदिवासी जनजाति महासंघले भने घटक संगठनको मान्यता दिएको छैन ।
माघ १ गतेलाई थारु,मगर र हिन्दु समुदायको पर्वका रूपमा मान्यता दिए जस्तै घलेको नयाँ वर्षको मान्यता दिइनुपर्ने उनीहरूको माग छ ।
प्रतिक्रिया