काठमाडौं – अहिले युट्युबमा ‘गलबन्दी गीतले ट्रेन्डिङ कब्जा गरेको छ । फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा पनि गलबन्दी छाएको छ ।
जताजतै ‘गलबन्दी’को चर्चा छ । सामाजिक सञ्जालमा भाइरल भएको छ । यहाँ लगाउने गलबन्दीको कुरा गरिएको होइन, गीत गलबन्दीको कुरा गरिएको हो । प्रकाश सपुत र शान्ति परियारले गाएको गलबन्दी नसुन्ने र नगुनगुनाउने सायदै होलान् ।
गलबन्दीका भिडियो निर्देशक प्रकाश सपुत नै हुन् । अञ्जली अधिकारीसँग मिलेर प्रकाशले नै अभिनय गरेका छन् । भिडियोको सहनिर्देशक उनका भाइ देवेन्द्र बब्लु हुन् । प्रकाशको यसअघि आएको ‘बोल माया’को कथामा केही थपघट गरी गलबन्दी ल्याइएको चर्चा पनि बजारमा छ । एउटा गाउँले बाध्यताले खाडी मुलुक भासिनुपरेको र बाकसमा फर्कनुपरेको कथा बोल माया प्रस्तुत गरिएको थियो । त्यो गीतको भिडियामा पनि अञ्जलीले नै अभियान गरेकी थिइन् । त्यसले पनि बजार तताएको थियो ।
अहिले त्यही ‘बोल माया’मा विदेशबाट बाकसमा फिर्ता भएको पात्रकी श्रीमतीका रुपमा अभिनय गरेकी अञ्जलीको गर्भबाट जन्मिएको छोरासँगको केही संवाद जोडिएर ‘गलबन्दी’ आएको छ । गलबन्दी हेर्नेले त यो बुझिहाल्छन् । नहेर्नेका लागि पनि यो संवाद निकै हेर्नलायक छ ।
छोरालाई आफ्नो बुबाबारे बताउँदै उनले स्मरण गरेको जवानीकाल र रोधी नै यो गीतको मुख्य आकर्षण हो । यसबाहेक गलबन्दीमा नयाँ कुरा केही छ्रैन । बरु पुरानो भाकालाई प्राथमिकता दिइएको छ । पछिल्लो समय ठेट, क्याची नेपाली शब्द समावेश गरिएका गीत बढी रुचाइएका छन् भने लोकभाकाका गीतहरु हिट भएका छन् ।
गलबन्दीमा गाउँतिर रोधी बस्दा केटा र केटीबीचको दोहोरी गायन शैली, रोधी घरमा जम्मा भएका दर्शकश्रोताहरूको गतिविधिलाई यथार्थ रुपमा प्रस्तुत गरिएको छ । अझ अञ्जलीले रोधी गाउँदा लजाएको दृश्य हेर्नलायक छ । केटाको गायनकलासँगै देखिएको अभिनय र केटीले गाउँदा देखाएको लजालुपन रोधीकै यथार्थ भाव हो ।
हरेकपटक प्रकाश सपुतले नयाँ केही ल्याउने गरेका छन् । आमदर्शक तथा श्रोतालाई पनि लाग्न थालेको छ, प्रकाशले केही नयाँपन त दिन्छन् नै । गीतको मन छुने भाका, चलनचल्तीका शब्द र अञ्जलीको लजालु अभिनय नै गीत हिट हुनुका प्रमुख कारण हुन् । यसरी प्रकाशको गलबन्दीसँगै अञ्जलीको पछ्यौरीले पनि यो गीत हिट बनाएको हो ।
प्रतिक्रिया