चरणबद्ध रूपमा आन्दोलनमा जाने निर्माण व्यवसायीको घोषणा

बुधबार, ०२ माघ २०८१, १५ : ४४

काठमाडौं - निर्माण व्यवसायीहरूले चरणबद्ध रूपमा आन्दोलनमा जाने घोषणा गरेका छन् । 

यही माघ ३ गतेदेखि चरणबद्ध रूपमा आन्दोलनमा जाने तयारी भएको नेपाल निर्माण व्यवसायी महासघंले जनाएको छ । लामो समयदेखि निर्माण व्यवसायीले सरकारसँग विभिन्न माग राख्दै आएको तर सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको निर्माण व्यवसायी महासघंका महासचिव रोशन दाहालले बताए । 

महासचिव दाहालका अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकासे मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाउने तयारी रहेको छ । साथै १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको छ ।

यसपछि पनि माग पुरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने महासघंले  जनाएको छ । निर्माण सामग्रीको मूल्यवृद्धि, लामो समयदेखि भुक्तानी नभएको, राष्ट्र बैकंले दिइएको सुविधा कटौती लगायतका कारण निर्माण उद्योग सकंटमा परेको उनको भनाइ छ ।
 

 
बुधबार, ०२ माघ २०८१, १५ : ४४

प्रतिक्रिया