काठमाडौं- ज्योतिराज राईको निर्माणमा बन्न लागेको फिल्म ‘नाक्छोङ’ (विजुवा) को छायांकन सुरु भएको छ । बिहीबार मोरङको बेलबारीमा शुभ– मुर्हूत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।
फिल्मको मुर्हूत परम्परागत भन्दा केही भिन्न तवरबाट गरियो । मुर्हूतमा स्थानीय बिजुवाले तीन चुला र चिन्डोलाई पूजासहित पुर्खाहरू सम्झँदै फिल्मको मुर्हूत गरेका थिए । मुर्हत कार्यक्रममा लेखक तथा निर्देशक नवीन सुब्बा, मिलन चाम्स, बेलाबारी नगरपालिका वडा नं ११ का वडाध्यक्ष विक्रम बान्तवालगायत स्थानीय कलाकर्मी थुप्रैको उपस्थिति रहेको थियो ।
कार्यक्रममा याशेली योङ्हाङ र हेम दिलुङ्छाले मुर्हूत सट दिदा मुर्हूत सटको निर्देशक नवीन सुब्बा, क्यामरा रोल वडाध्यक्ष विक्रम बान्तवा र क्ल्याप मिलन चाम्सले हानेका थिए ।
मुर्हूतपछि बोल्दै निर्देशक नवीन सुब्बाले राई जातिहरूको कथा, संस्कृति फिल्ममा कम आएको बताउँदै यस क्षेत्रसँग सम्बन्धित निर्देशकले आफ्नै त्यस्ता विषयवस्तुमा जोड दिनुपर्ने बताए । फिल्म ‘गाउँ आएको बाटो’ मा आफूले राईको कथा केही देखाउन खोजे पनि त्यो पर्याप्त नभएको सुब्बाको भनाई थियो ।
निर्देशक मिलन चाम्सले ‘नाक्छोङ’ को सुरुवात पितृहरूको सम्मान र सम्झनासहित सुरु भएकोले इतिहास रच्ने फिल्म बनोस् भन्दै शुभकामना दिए । उनले ‘नाक्छोङ’ जस्ता फिल्मले स्वदेशीको अलावा अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव जमाउन तागत राखे बताए ।
‘नाक्छोङ’ का निर्माता ज्योतीराजले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै ‘नाक्छोङ’ बिजुवाको निर्माणको औचित्य राईको परम्परा जोगाएर पुस्तान्तरण गर्नु रहेको बताए । हरेक चाड, विवाह, कुलपितृ, रीति भेसभुसामा आवश्यक बिजुवाको संरक्षणका लागि फिल्म निर्माण गर्न लागेको बताए । ‘नाक्छोङ’ स्वदेशीको अलावा अन्तर्राष्ट्रिय फिल्म महोत्सवको लागि निर्माण हुन लागेको खुलाए । उनले भने, ‘अहिलेसम्मको अनुभव खन्याएर फिल्म उत्कृष्ट बनाउनेछु ।’
फिल्म किरण राईले निर्देशन गर्दैछन् । किरणले यसअघि ‘लुङा’ र ज्यापंचौ’ निर्देशन गरेका थिए । फिल्मको लेखन समेत किरणले गरेका हुन् ।
याशेली योङ्हाङ, भुवनसिंह राई, सुस्मा सुब्बा, सरोज खालिङ, बबिन राई, अनुशा राई, सारा राई, त्रिचु राई, उत्तम राई, दयाहाङ राई, उदय सुब्बा कुरुम्बाङ, पूर्ण लिम्बु, दिनेश कोइराला, हेम दिलुङ्छा, बिनोद पोमो, प्रकाश सुब्बा लगायतको अभिनय रहने फिल्ममा बाबु श्रेष्ठको छायांकन सुरु रहने छ । फिल्मका मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन् ।
प्रतिक्रिया