बरुण बेभरेजको कर छली : उच्च अदालत पाटनको फैसला ‘त्रुटिपूर्ण’, सर्वोच्च पुग्यो सरकार

शुक्रबार, ११ माघ २०८१, ११ : ५६

काठमाडौं- नेपालमा पेप्सी लगायत अन्य हल्का पेय पदार्थ उत्पादन तथा बिक्री गर्ने आधिकारिक कम्पनी बरुण बेभरेज(नेपाल)प्रालिको कर छली मुद्दामा उच्च अदालत पाटनले गरेको फैसला ‘त्रुटिपूर्ण’ भन्दै सरकार सर्वोच्च अदालत पुगेको छ । 

पेप्सीसहित माउन्टेन, ड्यु,सेभेन अप, मिरिण्डा र स्लाइस उत्पादन गर्दै आएको यस कम्पनीले आयकर, लाभांश र भ्याटतर्फ करोडौं रकम छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

पेप्सी उत्पादक कम्पनीको ब्रम्हलुट : यी हुन् नक्कली बिजक कारोबार गर्न खडा गरिएका २९ फर्म

उच्च अदालत पाटनले बरुण बेभरेजको कर छलीविरुद्ध दायर गरिएको मुद्दामा फैसला गर्दै २७ करोड १३ लाख ४१ हजार १०१ रुपैयाँ राजस्व चुहावट गरेको ठहर गर्दै सोही बराबरको बिगो तिर्नुपर्ने फैसला गरेको थियो ।

पेप्सी उत्पादक कम्पनी बरुण बेभरेजको ठगी धन्दाः नक्कली फर्म खडा गरी राजस्व छली

यस्तै सञ्चालक रहेका सबै प्रतिवादीलाई सफाइ दिँदै कम्पनीका वित्त प्रमुख रहेका अमित गुप्तालाई मात्रै दोषी देखाइएको थियो । उनलाई एक वर्ष कैद र एक करोड बिगो ठहर हुने फैसला गरेको थियो ।

पाटन उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त इजलाशले गत पुसमा बरुण बेभरेजको करछली मुद्दामा सञ्चालक रहेका सात जनामध्ये गुप्तालाई मात्रै दोषी ठहर गरी अन्यलाई सफाई दिने फैसला गरेका थिए । 

पेप्सी उत्पादक कम्पनी बरुण बेभरेजद्वारा आयकर, भ्याट र लाभांश छली, २७ करोड १३ लाख राजस्व चुहावट

महान्यायाधीवक्ताको कार्यालयले उक्त फैसला बदर गरी सबैको हकमा सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । सर्वोच्चका प्रवक्ता अच्युत कुँइकेलका अनुसार बरुण बेभरेजविरुद्धको पुनरावेदन माघ २ गते दर्ता गरिएको हो ।

यस कम्पनीले नक्कली बिजक जारी गर्न विभिन्न फार्म खडा गरी राजस्व छली गर्ने गरेको उच्च अदालत पाटनले ठहर गरेको थियो । कम्पनीले नक्कली बिल बिजक कारोबारका लागि २९ वटा फर्म खडा गरेर राज्यलाई कराडौं रकम बराबरको मूल्य अभिवृद्धि कर(भ्याट) छली गरेको पाइएको थियो ।

 

शुक्रबार, ११ माघ २०८१, ११ : ५६

प्रतिक्रिया