काभ्रेमा विश्व युवा महोत्सव आयोजना हुने

सोमबार, १४ माघ २०८१, १७ : ३०

काठमाडौं - काभ्रेको धुलिखेलमा आगामी मार्चमा विश्व युवा महोत्सव आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति काभ्रेले विश्व युवा महोत्सव गर्ने तयारी गरेको हो ।

विश्वभरका करिब १० हजार युवाहरूलाई प्रत्यक्ष सहभागी गराएर धुलिखेलमा विश्व युवा महोत्सव गर्न लागेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा नै पहिलो पटक काभ्रेमा आगामी चैत्र १४ देखि १८ गतेसम्म युवा महोत्सव गर्ने तयारी भएको हो ।

महोत्सव काठमाडौं विश्वविद्यालय परिसरमा हुने उनले बताए । महोत्सवमा विभिन्न २५ वटा विषयमा सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम लगायत ५० भन्दा बढी गतिविधि हुने प्रमुख गौतमको भनाई छ । उनका अनुसार युवा महोत्सवले नवीनतम विचारहरूको उत्पादनमा जोड दिने छ भने काभ्रे र नेपाललाई विश्वमा परिचित गर्न भूमिका निर्वाह गर्नेछ ।

३ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको उक्त युवा महोत्सवमा विभिन्न विश्वविद्यालय, युवा सञ्जाल, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका युवाहरूको सहभागिता हुने उनले बताए । महोत्सवलाई लक्षित गरी २०० भन्दा बढी विज्ञ रहेको महोत्सव आयोजकले समिति निर्माण गरेको प्रमुख गौतमले बताए ।

सरकारको भिजन २०२५, राष्ट्रिय योजना आयोगको १६ औँ पञ्चवर्षीय योजनाका साथै दिगो विकास लक्ष्यका सूचकहरू पुरा गर्न महोत्सव केन्द्रित हुने प्रमुख गौतमको भनाई छ । महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यले ५ लाख पुरस्कार राशिको फुटसल प्रतियोगिता आयोजना गरिएको छ । माघ १७ देखि १९ गतेसम्म आयोजना हुने फुटसल प्रतियोगिता खुल्ला तथा अन्तर विद्यालय स्तरीय हुनेछ । खुलातर्फ पहिलो हुने टिमले ५ लाख र विद्यालयतर्फ पहिलो हुने टिमले १ लाख पुरस्कार पाउनेछ ।

विभिन्न ८ वटा देशमा सम्पन्न युवा महोत्सवमा सहभागी भएका प्रमुख गौतमले सोही अनुभव र स्थानीयहरूको मागका आधारमा महोत्सव गर्न लागिएको बताए । महोत्सवका लागि हालसम्म ७५ देशका युवाहरूले अग्रिम शुल्क तिरेर नाम दर्ता गराइसकेका छन् । 

कार्यक्रम अगावै दर्ता गर्नेलाई ७ हजार ५०० र कार्यक्रम अवधिमा दर्ता गर्नेलाई १० हजार शुल्क तोकिएको छ । महोत्सवमा नेपालका ७ सय ५३ वटै स्थानीय तहको सहभागिता रहने जनाइएको छ । 
 

 
 
सोमबार, १४ माघ २०८१, १७ : ३०

प्रतिक्रिया