पुराना आइफोन प्रयोगकर्ताका लागि झट्का! मे ५ पछि ह्वाट्सएप बन्द हुने

विहीबार, १७ माघ २०८१, ०९ : ४९

काठमाडाैं- विश्वभर सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले केही पुराना आइफोनका लागि समर्थन बन्द गर्ने घोषणा गरेको छ। यदि तपाईं पुरानो आईफोन प्रयोग गर्दै हुनुहुन्छ भने, आउँदो मे ५ पछि ह्वाट्सएप प्रयोग गर्न नपाउने सम्भावना छ।

ह्वाट्सएपको पछिल्लो अपडेट मुख्यतया आइफोन ६, आइफोन ६ प्लस र आइफोन ५एस प्रयोगकर्तालाई असर गर्नेछ। यी डिभाइसहरूमा स्टेबल भर्जनको समर्थन मे ५ बाट बन्द हुनेछ।

कम्पनीले पुराना अपरेटिङ सिस्टमहरू हटाएर नयाँ फिचरहरू थप्ने तयारी गरिरहेको छ। यसका लागि आईओएस १२, आईओएस १३ र आईओएस १४ को समर्थन बन्द गर्दैछ। अब ह्वाट्सएप चलाउनका लागि आईओएस १५.१ वा सोभन्दा माथिको अपरेटिङ सिस्टम आवश्यक हुनेछ।

यदि तपाईंको फोन आईओएस १५.१ वा सोभन्दा माथि अपडेट गर्न सकिन्छ भने,

  1. सेटिङ एप खोल्नुहोस्।

  2. जनरलमा जानुहोस्।

  3. सफ्टवेयर अपडेटमा क्लिक गर्नुहोस्।

  4. लेटेस्ट आईओएस भर्सन इन्स्टल गर्नुहोस्।

यदि सफ्टवेयर अपडेट उपलब्ध छैन भने, नयाँ फोनमा स्विच गर्नुको विकल्प मात्र हुनेछ।

ह्वाट्सएपले बिटा टेस्टर्सका लागि पुराना आइफोनहरूमा लेटेस्ट अपडेट उपलब्ध गराउन रोकिसकेको छ। यसले संकेत गर्छ कि कम्पनी ती डिभाइसहरूको लागि आफ्नो सेवा बन्द गर्ने प्रक्रियामा छ।

नयाँ अपडेटपछि ह्वाट्सएपमा थप सुरक्षासम्बन्धी सुधार, नयाँ फिचरहरू र स्टेबल परफर्मेन्स उपलब्ध हुनेछ। कम्पनीले भनेको छ कि यो परिवर्तन पछिल्ला फोनअनुसार थप प्रभावकारी हुनेछ।

यदि तपाईं ह्वाट्सएप निरन्तर प्रयोग गर्न चाहनुहुन्छ भने, आफ्ना डिभाइसहरू अपडेट गर्नुहोस् वा नयाँ फोनमा स्विच गर्नेबारे सोच्नुहोस्।

विहीबार, १७ माघ २०८१, ०९ : ४९

प्रतिक्रिया