करोडौँको लगानी खेर, कृषिउपज संकलन केन्द्र प्रयोगविहीन

शुक्रबार, १८ माघ २०८१, ०९ : ०९

काठमाडाैं- पश्चिम नवलपरासीको सरावलमा किसानको सुविधाका लागि निर्माण गरिएको कृषिउपज संकलन केन्द्र सञ्चालनमा नआउँदा प्रयोगविहीन बनेको छ। लुम्बिनी प्रदेश सरकारले १५ लाख रुपैयाँको लागतमा बनाएको यो केन्द्र कार्यविधिको अभावमा अलपत्र परेको हो।

सरावल गाउँपालिका–४ गोइनीमा निर्माण भएको केन्द्र सञ्चालन नहुँदा किसानहरू आफ्ना उत्पादनहरू बर्दघाट, परासी र बुटवलसम्म पुर्‍याएर बिक्री गर्न बाध्य छन्। किसानहरूले प्रदेश सरकार र स्थानीय तहको समन्वयमा केन्द्रलाई छिटोभन्दा छिटो सञ्चालन गर्न माग गरिरहेका छन्।

गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीका अनुसार यो केन्द्रलाई कृषिउपज बिक्री केन्द्रका रूपमा सञ्चालन गर्ने दीर्घकालीन योजना छ। तर, प्रदेश सरकारले यसको व्यवस्थापनका लागि कुनै ठोस कार्यविधि नल्याउँदा राज्यको लगानी व्यर्थ गएको छ, भने किसानले बजार अभावको समस्या झेल्नुपरेको छ।

विद्यार्थीका लागि राहत : मोतीलाल बहुमुखी क्याम्पसलाई बस

यसैबीच, सुनवल–१३, बडेरामा रहेको मोतीलाल बहुमुखी क्याम्पसले आफ्ना विद्यार्थीहरूको यातायात सहज बनाउन बस प्राप्त गरेको छ। सुनवल नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेटबाट ३१ लाख ५० हजार रुपैयाँ खर्चेर बस उपलब्ध गराएको नगरप्रमुख विमला अर्यालले जानकारी दिइन्।

विसं २०६५ मा स्थापना भएको क्याम्पसमा व्यवस्थापन तथा मानविकी सङ्कायमा २९० विद्यार्थी अध्ययनरत छन्। नयाँ बस सञ्चालन भएपछि विद्यार्थीहरूलाई क्याम्पस आवतजावत गर्न सजिलो हुने विश्वास गरिएको छ।

शुक्रबार, १८ माघ २०८१, ०९ : ०९

प्रतिक्रिया