काठमाडौं- नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौं भृकुटीमण्डपमा भइरहेको छ ।
यही १७ माघ गतेदेखि सुरु भएको एक्स्पोमा विभिन्न नेपालीसहित अन्तर्राष्ट्रिय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । कृषिजन्य उत्पादन, हस्तकला, लत्ताकपडा, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होम अप्लायन्स, लजिस्टिक, टेक्स्टायल, फर्निचर, तयारी पोशाक, छालाजन्य वस्तु, गरगहना, कस्मेटिक्स, खाद्यान्नलगायत सामग्री प्रदर्शनमा राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको चेम्बर एक्स्पोको ४ दिन हुँदा व्यवसायीहरुले उत्साहजनक रुपमा आफ्नो स्टलमा व्यापार तथा प्रदर्शनी गरिरहेका छन् । आफूले एक्स्पोमा सहभागी भएर आफ्नो सामानहरुलाई बजारमा चिनाउन पाउँदा खुसी लागेको रत्न वुड कार्भिङ सेन्टरका रामेश्वर बाराहीले बताए । उनले भने, ‘हामीले बजारसम्म आफ्नो वस्तुहरु चिनाउने र नेटर्वकिङ बढाउने मौका पाउनु पनि एक्स्पोको राम्रो पक्ष हो ।’
आठौँ संस्करणको एक्स्पोमा एआई तथा सफ्टवेयर प्रोजेक्टहरुलाई विशेष महत्वका साथ हेरिएको छ । एआई आजको विश्वको आवश्यकीय विषय भएकोले यही वर्षदेखि मात्र एक्स्पोमा सहभागी गराईएको चेम्बर समितिका संयोजक राष्ट्रभुषण चाकुवाजीको भनाई छ ।
उनले भने, ‘यसपटकको चेम्बर एक्स्पोमा आइटी सेक्टरबाट एआईलाई विषेश प्राथमिकतामा राखेका छौ त्यसबाट पनि एआई के हो भन्ने जानकारी र सन्देश जाने देखिन्छ । आईटी सेक्टरबाट नयाँ युवाहरुले घर बसीबसी आर्थिक उपार्जनका कामहरु गर्न सक्ने भइसकेको अवस्था छ । साथै एआईलगायतका सफ्टवेयरहरुबाट सरकारी कामकाजलाई पनि फाईदा पुग्ने र सहज बनाउने हुनाले यो एक्स्पोमा उपस्थित गराएका छौँ ।’
सनवे कलेजमा ब्याचलर दोस्रो वर्षमा आईटी विषय अध्ययन गरिरहेका संकेत श्रेष्ठ र प्रशान्त आचार्यले पढाईकै प्रोजेक्टअन्तर्गत युवालक्षित सम्फ्टवेयर निमार्ण गरेको र एक्स्पोको माध्यमबाट मानिसहरु समक्ष पुग्न मद्दत पुगेको उत्साहित हुँदै सुनाए। संकेतले भने, ‘हामीले बनाएको सफ्टवेयरको माध्यमबाट टाईपिङ गर्न र दृष्टिमा समस्या भएका व्यक्तिहरुले पनि सजिलै फोटोलाई शब्द र शब्दलाई आवाज दिने काम गर्छ । यसले युवाहरु साथै सरकारी क्षेत्रका काममा समेत सहयोग पुग्नेछ ।’
‘नेपालमा जुनसुकै समस्या उत्पन्न हुँदा पनि सफ्टवेयरहरु निर्माण गरी समाधान गर्न सक्ने मानिसहरु बढ्दै गएको छ एक्स्पोको माध्यमबाट बजारले खोजेको कुरा बुझ्न र हामीजस्तै सफ्टवेयर निर्माण गर्ने व्यक्ति तथा संस्थासँग घुलमिल हुन पनि पाएका छौँ।’, प्रशान्तले भने ।
विगतका वर्षहरुबाट नै एक्स्पोमा सहभागी हुँदै आएका उद्यमी घरका दिपक कार्कीले भने यसपटकको एक्स्पोमा मानिसहरुको आगमन त्यति नभएको बताए ।
उनले भने, ‘यसपटक समितिबाट मार्केटिङमा कमी भयो कि किन हो सुनसान नै देखिन्छ ।’ युफोरिया नेपालबाट पञ्चधातुका सामानको स्टल राखेका एलिस प्रजापतिको अनुभव पनि यस्तै छ ,‘मानिसहरुको उपस्थिति चै ठीकै देखियो तरपनि अझै पनि २ दिन त बाँकी छ राम्रै होला । अहिले नै नभएपनि व्यवसायलाई भविष्यका लागि सकारात्मक रिजल्ट दिने अपेक्षा गरेको छु ।’
बजारीकरण नभएकोभन्दा पनि बजारमा देखिएको आर्थिक मन्दीको प्रभावले गर्दा पहिलेजस्तो चहलपहल हुन नसकेको चेम्बर एक्स्पोका संयोजक राष्ट्रभुषण चाकुबाजीको भनाइ छ ।
‘हामीले पेपर बाँडेर मार्टेटिङ भने यसपटक गरेनौँ तर अनलाइनमै सबैजना बढी जोडिने हुँदा यो माध्यम भने पूर्णरुपमा प्रयोग गरेका थियौँ। हरेक वर्ष जस्तै यो पटकपनि बिहीबार एक्स्पोको उदद्घाटन गरेका हौँ तर शुक्रबार पनि उत्साह त्यति देखिदैँन । बजारमा सुनिदैँ आएको आर्थिक मन्दीको असर पनि देखिएको हुनसक्छ ।’ उनले भने ।
साथै एक्स्पोको तयारी करिब ६ महिना अघिदेखि नै थालेको र त्यतिबेलै सम्झौता गरेका कतिपय विदेशी व्यवसायीले आर्थिक मन्दीकै कारण देखाएर सम्झौता नै रद्द गरेको उनको भनाई छ ।
व्यापार मात्र भन्दापनि मार्केटमा आफ्नो उत्पादन र क्षमतालाई चिनाउन सहयोग हुने हुनाले एक्स्पोमा सहभागी भएको वेर्विङ हाउसमार्फत् कफीलाई चिनाउँदै आएका निपेन्द्र महर्जनले बताए । आफूले दुबईमा समेत नेपाली कफी बेच्दै आएको भन्दै उनले नेपाल उत्पादन विश्व बजारमा चिनिनका लागि एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
एक्स्पोमा आएका बानेश्वरका दिपेन्द्र सिलवालले एकैठाउँमा धेरै सामानहरु किन्न र नयाँ प्रोडक्टहरु हेर्न पाउनु राम्रो पक्ष भएको भन्दै अझै बजारीकरण हुन जरुरी रहेको आफ्नो बुझाई रहेको सुनाए ।
प्रतिक्रिया