लाङटाङ-क्यान्जिन पदमार्गमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

बुधबार, ३१ बैशाख २०८२, १३ : ४८

काठमाडौं- नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्र लाङटाङ-क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा विस्तार गरेको छ।

कम्पनीले गोसाइँकुण्ड गाउँपालिका–४ अन्तर्गत पर्ने क्यान्जिन उपत्यकामा नयाँ बीटीएस (BTS) टावर जडान गरी सेवा सञ्चालनमा ल्याएको हो।

काठमाडौंबाट सबैभन्दा नजिकको हिमाली पदयात्रा गन्तव्य मानिने लाङटाङ–क्यान्जिन क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकबीच अत्यधिक लोकप्रिय छ। समुद्री सतहबाट करिब ३८०० मिटर उचाइमा अवस्थित क्यान्जिन उपत्यकासम्म अब मोबाइलमार्फत चौथो पुस्ताको दूरसञ्चार सेवा उपलब्ध हुनेछ।

नेपाल टेलिकमले सेवा विस्तारका लागि पर्यटक र स्थानीय दुवैलाई केन्द्रमा राखेर प्रविधि पु-याएको जनाएको छ। फोरजी सेवाको विस्तारपछि यात्रुहरूले सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव तत्काल आफ्ना प्रियजनहरूसँग साझा गर्न सक्नेछन्।

लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने क्यान्जिन उपत्यका स्याफ्रुबेशीबाट करिब दुई दिनको पैदलयात्रामा पुगिने पर्यटकीय स्थल हो। टेलिकमका अनुसार यस क्षेत्रका स्थानीय बासिन्दा, पर्यटन व्यवसायी र सेवा प्रदायकहरू समेत आधुनिक दूरसञ्चार सेवाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमले दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच पु-याउने रणनीति अन्तर्गत सेवा विस्तार गरेको हो। कम्पनीले आगामी दिनमा अन्य हिमाली गन्तव्यहरूमा पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ ।

बुधबार, ३१ बैशाख २०८२, १३ : ४८

प्रतिक्रिया