टुर दि ठाकुरद्वारा: अन्तर्राष्ट्रिय साइक्लिस्टहरुको रोमाञ्चक यात्रा

विहीबार, २४ माघ २०८१, ०६ : २९

काठमाडाैं- नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्ने टुर दि ठाकुरद्वारा साइकल यात्रा यसपटक थप भव्य र अन्तर्राष्ट्रिय रंगमा रंगिन लागेको छ। नेपाल, भारत, र चीनका गरी करिब दुई सय जना साइक्लिष्टहरूले यस रोमाञ्चक यात्रामा सहभागी हुने भएका छन्। बर्सेनि आयोजना हुँदै आएको यो साहसिक इभेन्टले बांके र बर्दियाका धार्मिक पर्यटन स्थलहरूको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

माघ २५ र २६ गते हुने सातौँ संस्करण मा भारतका २९ जना र चीनका एक जना साइक्लिष्टसहित करिब दुई सय जना सहभागी हुने नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिएका छन्। नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरबाट सुरु हुने यो यात्रा करिब १०० किलोमिटरको दूरी पार गर्दै बर्दियाको ऐतिहासिक धार्मिक स्थल ठाकुरद्वारामा समापन हुनेछ।

धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिँदै आएको यो साइकल यात्राले लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको "घुमौं बर्दिया ठाकुरद्वारा २०२५" अभियानलाई थप बल प्रदान गर्ने विश्वास गरिएको छ। कार्यक्रम संयोजक सुरेन्द्रदीप कार्कीका अनुसार, यसले बांके र बर्दियाका धार्मिक पर्यटकहरूको आगमन वृद्धि गर्न मद्दत पुर्याइरहेको छ।

साइकलिङ क्लबले यसअघि पनि मेयर कप साइकल दौडजस्ता रोमाञ्चक प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। साइकलिङ मार्फत पर्यटन प्रवर्द्धन गर्ने अभियान लाई निरन्तरता दिँदै क्लबले यो वर्षको टुर दि ठाकुरद्वारा अझ विशेष बनाउन तयारी गरिरहेको छ। साहसिक खेल र धार्मिक पर्यटनको संयोजनले यस क्षेत्रलाई थप अन्तर्राष्ट्रिय पहिचान दिलाउने विश्वास गरिएको छ।

विहीबार, २४ माघ २०८१, ०६ : २९

प्रतिक्रिया