अमेरिकामा अर्को विमान सम्पर्क विहीन

शुक्रबार, २५ माघ २०८१, १६ : २४

काठमाडौं - अमेरिकामा अर्को विमान सम्पर्क विहीन भएको छ। अमेरिकामा आठ दिनको अवधिमा तेस्रो विमान दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । 

आर्कटिक सर्कलको दक्षिणमा रहेको अलास्काको नर्दर्न साउन्डमा बिहीबार दिउँसो १० जना सवार बेरिङ एयरको विमान बेपत्ता भएको समाचारमा उल्लेख छ । यसको खोजी गरिरहेका उद्धार टोलीहरूले रातभरि विमानको कुनै संकेत नपाएको अलास्का सार्वजनिक सुरक्षा विभागले जनाएको छ । 

विभागका अनुसार बेरिङ एयरको विमानमा नौ जना यात्रु र एक जना पाइलटसहित उनालाकलीटबाट नोम जाँदै थियो । अधिकारीहरूले विमानको अन्तिम ज्ञात निर्देशांकहरू निर्धारण गर्ने काम गरिरहेका छन् ।उनालाक्लीट पश्चिमी अलास्कामा लगभग ६९० मानिसहरूको समुदाय हो, जुन नोमबाट लगभग १५० माइल दक्षिणपूर्वमा र एन्कोरेजबाट ३९५ माइल उत्तरपश्चिममा अवस्थित छ । 

सेसना कारभान उनालाक्लीटबाट दिउँसो २ः३८ मा उडेको थियो । उडेको एक घण्टाभन्दा कम समयपछि विमानसँगको सम्पर्क टुटेको बेरिङ एयरका अपरेशन निर्देशक डेभिड ओल्सनले भनेका छन् । अमेरिकी तटरक्षकका अनुसार विमान १२ माइल टाढा थियो । बेरिङ एयरका कर्मचारीहरूले विवरण सङ्कलन गर्ने, आपत्कालीन सहायता प्राप्त गर्ने र खोज तथा उद्धार कार्य सञ्चालन गर्ने लगायत काम गरिरहेको ओल्सनले बताए ।

विमान उडान भएको समयमा हलुका हिउँ परिरहेको र कुहिरो भएको बताइएको छ । विमानमा सवारहरूको नाम जारी गरिएको छैन । यसअघि जनवरी २९ मा वासिङटन नजिक जेटलाइन र सेनाको हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो ।

३२ जनवरीमा फिलाडेल्फियामा पनि बिरामी बोकेको हेलिकप्टर दुर्घटना हुँदा विमानमा सवार ६ जना र जमिनमा रहेका अर्का एक जनाको मृत्यु भएको थियो । एजेन्सी 

शुक्रबार, २५ माघ २०८१, १६ : २४

प्रतिक्रिया