काठमाडाैं- आउँदो धान बालीका लागि आवश्यक मल आपूर्ति सहज बनाउन सरकारले ठूलाे परिमाणमा मल आयात प्रक्रिया अघि बढाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार टन युरिया मल खरिद गर्न टेन्डर आह्वान गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिपछि अर्थ मन्त्रालयले १७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेसँगै मल आपूर्तिको प्रक्रिया तीव्र बनाइएको कम्पनीले जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद घिमिरेका अनुसार किसानलाई समयमा मल उपलब्ध गराउने लक्ष्यसहित टेन्डर आह्वान गरिएको हो।
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ३ लाख ८५ हजार मेट्रिक टन मल आयात गर्ने लक्ष्य लिएको छ। हालसम्म २ लाख ४० हजार मेट्रिक टन मल नेपाल भित्रिएको छ भने २ लाख १४ हजार ४७ टन मल वितरण भइसकेको छ। यसबाहेक २५ हजार टन युरिया र ५० हजार टन डिएपी मौज्दात रहेको कम्पनीले जनाएको छ।
चालु आवमा ५ लाख ५० हजार मेट्रिक टन मल खरिद गर्न सरकारले २७ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ। मल आयातको जिम्मा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिइएको छ। यी दुई संस्थाले टेन्डर प्रक्रियामार्फत विभिन्न मुलुकबाट मल आयात गरिरहेका छन्।
धान बाली उत्पादनमा मलको महत्त्वपूर्ण भूमिका रहेको हुँदा सरकारले मल आपूर्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ। समयमै मल वितरण गर्न सकिएमा किसानले उत्पादन बढाउने र मुलुकको खाद्य सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया