काठमाडौं - गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धनु को शुभ मुहर्त सम्पन्न भएको छ।
शुक्रबार बिहान कोटेश्वर महादेव मन्दिरमा पूजा अर्चनासहित चलचित्रको मुहर्त गरिएको हो । सरोज खनालले क्ल्याप, युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए भने बाल गायक तथा कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहर्त शर्ट दिएका थिए। चलचित्रको आजबाट नै छायांकन सुरुवात गरिएको छ।
यो चलचित्रमा मुख्य पात्रको रूपमा बाल गायक अशोक दर्जीको अभिनय रहनेछ। चलचित्रमा उनीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए।आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारहरूको अभिनय पनि रहनेछ।
चलचित्रको कथा निर्माता एवं निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन्। सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रको वितरणको जिम्मा बैंकटेश इन्टरटेन्टमेन्टले लिएको छ।
चलचित्रका निर्माता बिष्णु माया मैनाली र सह निर्माता जीपी संग्रौला, लक्ष्मी गिरि, विवेक नेपाल र विजया पाण्डे छन्। मिनु शर्मा (सपना) कार्यकारी निर्माता हुन्।
चलचित्रमा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहनेछ।
प्रतिक्रिया