डोल्पामा स्याउ खेतीको विकासः १२ हजार ६ सय बिरुवा कृषकलाई वितरण

आइतबार, ०४ फागुन २०८१, ०८ : ०१

काठमाडाैं- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत डोल्पामा स्याउ खेतीलाई प्रवर्द्धन गर्न १२ हजार ६ सय स्याउका कलमी बिरुवा वितरण गरिएको छ। स्याउ जोन प्रभाव क्षेत्रको क्षेत्रफल विस्तार कार्यक्रमअन्तर्गत ठुलीभेरी नगरपालिका, जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका कृषक समूह, सहकारी तथा कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा गोल्डेन, रोयल, रेड डेलिसियस र रेड रिचाड जातका स्याउका बिरुवा उपलब्ध गराइएको परियोजना कार्यान्वयन एकाइका प्रमुख गोविन्दबहादुर मल्लले जानकारी दिए ।

स्याउ खेतीका लागि उपयुक्त डोल्पामा परियोजनाले विशेष योजनाका साथ काम गरिरहेको छ। मुड्केचुला र काइके गाउँपालिकामा सिमी जोन कार्यक्रम सञ्चालन भइरहेको छ। हिमाली भेगको शीतल वातावरण स्याउ खेतीका लागि आदर्श मानिन्छ, जसले कृषकहरूको आयआर्जन वृद्धि गर्दै स्वदेशी उत्पादनलाई आत्मनिर्भरतातर्फ अग्रसर गराउने विश्वास गरिएको छ।

स्थानीय कृषकहरूले अनुदानमा पाएको स्याउका बिरुवाले आफ्नो कृषि व्यवसायलाई नयाँ उचाइमा पुर‍्याउने आशा व्यक्त गरेका छन्। परियोजनाले प्रदान गरेको यो सहुलियतले डोल्पालाई स्याउ उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

आइतबार, ०४ फागुन २०८१, ०८ : ०१

प्रतिक्रिया