पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन, पर्यटकलाई आकर्षण

आइतबार, ०४ फागुन २०८१, ०९ : १२

काठमाडाैं- पाल्पाको रमणीय गाउँ रम्भा–२, फोक्सिङकोटमा पहिलोपटक ‘रानीवास सामुदायिक घरवास’ कार्यक्रम सञ्चालनमा आएको छ। स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित १४ परिवारले आफ्ना परम्परागत घरलाई आकर्षक ढंगले व्यवस्थापन गरी पर्यटकलाई स्वागत गर्न थालिसकेका छन्।

सामुदायिक घरवासका अध्यक्ष देउकुमारी सारूका अनुसार, आगन्तुकका लागि विशेष प्याकेजको व्यवस्था गरिएको छ। प्रतिव्यक्ति रु १,००० को प्याकेजअन्तर्गत स्थानीय कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता, र आरामदायी बसोबासको सुविधा प्रदान गरिनेछ। साथै, पर्यटकलाई मगर समुदायका मौलिक परिकारहरूसमेत स्वाद चाख्न पाइनेछ।

पर्यटकको रुचिअनुसार कोदोको ढिँडो, मकैको रोटी, गुन्द्रुक, स्थानीय जातको कुखुरा र सुँगुरको मासु, बटुक, सेलरोटी जस्ता परिकार उपलब्ध गराइनेछ। यहाँ आउने पाहुनालाई मगर संस्कृतिसँग परिचित गराउन पन्चेबाजा, सालैजो, मारूनी, झाम्रे, ठूलो नाच जस्ता सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ।

रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार, घरवास सञ्चालनका लागि स्थानीयलाई विशेष तालिम प्रदान गरिएको छ। यस अभियानले स्थानीय समुदायलाई रोजगारी सिर्जना गर्दै आर्थिक उन्नति गर्न मद्दत पुग्नेछ। साथै, मगर संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा समेत टेवा पुग्नेछ।

समुद्र सतहदेखि करिब १,२०० मिटर उचाइमा अवस्थित रानीवासबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी लगायतका हिमशृंखलाको अनुपम दृश्यावलोकन गर्न सकिन्छ। साथै, यहाँ निर्माणाधीन आदिवासी जनजाति सङ्ग्रहालयमा मगर समुदायका ऐतिहासिक वस्त्र, माटो र काठले बनेका पुरातात्त्विक सामग्री, परम्परागत हतियार तथा दैनिक जीवनमा प्रयोग गरिने प्राचीन सामग्रीहरू राखिएका छन्।

रानीवास सामुदायिक घरवास सञ्चालनसँगै फोक्सिङकोट नेपालकै नयाँ पर्यटन गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

आइतबार, ०४ फागुन २०८१, ०९ : १२

प्रतिक्रिया