काठमाडाैं- कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बालुवा बगरलाई सुनमा परिणत गरेका छन्। करिब ५० जना किसानको परिश्रमले बगरमा फलेका प्याज अब कृषिको नक्सामा टीकापुरलाई चिनाउने आधार बनेको छ।
विगत तीन वर्षदेखि केही किसानले सुरु गरेको प्याजखेती यस वर्ष भने सामूहिक उत्साहमा परिणत भएको छ। बालुवा माटोमा भन्दा उर्बर हुने विश्वासले किसानलाई बगरतर्फ आकर्षित गराएको छ। तीन वर्षदेखि बगरमा प्याजखेती गर्दै आएका सहिबहादुर चौधरी यस वर्ष ८६ किलो प्याजको बीउ रोपेर नयाँ कीर्तिमान बनाउन अग्रसर छन्।
"गतवर्ष २० किलो बेर्नाबाट तीन क्विन्टल प्याज उत्पादन भयो," चौधरी भन्छन्, "यस वर्ष अढाइ कठ्ठामा प्याजखेती गरेको छु। सुरुमा हामी केही मात्र थियौँ, अहिले त पूरै गाउँ नै प्याजखेतीमा लागिसकेको छ।"
कृषि उत्साहले भरिएको फाँटामा अब भारतीय किसानको पैठ जम्न सकेको छैन। स्थानीय रामदुलारी चौधरीले यस वर्ष १६ किलो बेर्ना रोपेर उत्पादन बढाउने लक्ष्य लिएका छन्। "पोहरसाल एक क्विन्टल २० किलो प्याज बिक्री गरेँ, यसपालि झन् बढी उत्पादन हुने अपेक्षा छ," उनले उत्साहपूर्वक सुनाए।
बगरको बालुवामा फलेका प्याजका दाना यति ठूला हुन्छन् कि ५-६ वटा प्याजले एक किलो तौल पुर्याउँछन्। किसानहरू गोबर मलसँगै जिन्क, पोटास र यूरियाको प्रयोग गरी दैनिक तीन पटकसम्म सिँचाइ गरेर मेहनत गरिरहेका छन्।
पहिलो पटक बगरमा प्याजखेती गर्दै गरेका हिक्मत ठकुल्ला भन्छन्, "फाँटाका किसानको सफलता देखेर म पनि उत्साहित भएँ। मसँग अरु खेत पनि छन्, तर बगरमा उत्पादन राम्रो हुने विश्वासले यहाँ खेती थालेको छु।"
जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीका अनुसार खुकुलो माटो प्याज खेतीका लागि उपयुक्त भएकाले किसानको सफलता देखिएको हो। "हामीले बगरमा खेती गर्न सिफारिस त गर्दैनौँ, तर प्याजका लागि खुकुलो माटो आवश्यक हुन्छ," उनी भन्छन्।
किसानकाे अदम्य साहस र मेहनतका कारण अरु ठाउँका किसान पनि कर्णालीको बगरमा भएको चमत्कारीक प्याजखेती हेर्न आउन थालेका छन्। समाजसेवी शेरबहादुर साउद भन्छन्, "दैनिकजसो अन्यत्रका किसान यहाँ प्याजखेती हेर्न आउँछन्। यो सफलता निरन्तर कायम रह्यो भने हिउँदमा कर्णालीको बगर कहिल्यै खाली रहने छैन।"
किसानकाे अथक परिश्रम र बालुवाकाे उर्बरताले भविष्यमा टीकापुरकाे वडाहरू ५, ६ र ७ का किसानलाई पनि प्याजखेतीमा प्रेरित गर्नेछ। कर्णालीको बगर अब कृषि उत्पादनको अर्को सम्भावनाको केन्द्र बन्ने आशा गरिएको छ।
प्रतिक्रिया