काठमाडाैं- कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौरा कहिल्यै कल्पना पनि नगरेको यात्रामा अघि बढिरहनुभएको छ। पहिले दिनभर मजदुरी गरेर रु पाँच सय मात्र ज्याला पाउने पार्वतीले अब घर निर्माणको ठेक्का लिँदै दैनिक रु एक हजार आम्दानी गर्न थालेकी छिन्।
पुरुषसरह काम गर्दा पनि कम ज्याला पाउने असमानताले उनलाई नयाँ बाटो खोज्न बाध्य बनायो। “दिनभर पुरुषसरह मजदुरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफैँ मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ,” पार्वतीले भनिन्। उनले दातृ निकायको सहयोगमा वडा कार्यालयमा आयोजित ६० दिने राज मिस्त्री तालिम लिएपछि नयाँ यात्रा सुरु गरेकी हुन्।
तालिम पूरा गरेसँगै गाउँमै पहिलो घर निर्माणको ठेक्का मिलेको उनले सुनाइन्। “पहिला मजदुरीमा जाँदा दिनभर पसिना बगाउँथेँ, ज्याला भने रु पाँच सय मात्र पाउँथे। अहिले आफ्नै सिपले दिनको रु एक हजार आम्दानी गर्न सकेकी छु,” पार्वतीले खुशी व्यक्त गरिन्।
पार्वतीले तीन घर निर्माणको ठेक्का पूरा गरिसकेकी छिन्, र एउटा नसकिँदै अर्को ठेक्का पाउने अवस्था आएको छ। “पहिले मजदुरीमा जाँदा अलि ढिलो भए ठेकेदारले फर्काइदिन्थे, अहिले आफ्नै रोजगारी छ,” उनले भनिन्।
मजदुरीबाट आत्मनिर्भरता यात्रासम्म आइपुग्दा उनले महिलामाथि ज्याला विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्। “मैले महिला-पुरुष दुवैलाई समान ज्याला दिएको छु। आफूले भोगेको विभेद अरूलाई भोग्न दिन्न,” पार्वतीले दृढताका साथ भनिन्।
निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाले वेदकोट र कृष्णपुर नगरपालिकाका महिलाहरूलाई विभिन्न उद्यममार्फत आत्मनिर्भर बन्ने अवसर दिइरहेको छ। परियोजना संयोजक हेमन्त शाहीका अनुसार, हालसम्म १३ प्रकारका उद्यममा १२३ जना प्रत्यक्ष लाभान्वित भएका छन्।
वेदकोट नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराका अनुसार, “न्यून आयस्तर भएका महिला तथा इच्छाशक्ति भएकाहरूलाई दातृ निकायको सहयोगमा आत्मनिर्भर बन्ने अवसर दिइएको छ। अहिले धेरै महिला विभिन्न पेसामा सक्रिय भई आत्मनिर्भर बन्न सफल भएका छन्।”
पार्वती डगौराको कथा नेपालका अन्य महिलाका लागि प्रेरणाको स्रोत बनेको छ। दृढ इच्छा शक्ति, धैर्यता र निरन्तर प्रयासले महिलाहरूले पनि निर्माण व्यवसायजस्ता चुनौतीपूर्ण क्षेत्रमा अगाडि बढ्न सक्छन् भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छिन्।
प्रतिक्रिया