काठमाडाैं- आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशभर विविध कार्यक्रमका साथ हर्षोल्लासपूर्वक मनाइँदैछ। नेपाली जनताले जहानियाँ राणा शासनको अन्त्य गर्दै लोकतान्त्रिक मूल्यमान्यता स्थापित गरेको ऐतिहासिक दिनका रूपमा २००७ साल फागुन ७ गतेलाई लिने गरिन्छ।
यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिद्वारा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन अर्पण गर्ने ज्ञात-अज्ञात सहिदहरूको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाल सरकारले प्रजातन्त्र दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। प्रजातन्त्र केवल शासन व्यवस्था मात्र नभई नागरिक अधिकार, स्वतन्त्रता, समानता र अभिव्यक्तिको स्वतन्त्रताको पर्याय हो। यसले प्रत्येक नागरिकलाई आफ्नो विचार राख्ने, संघसंस्था गठन गर्ने, समान अवसर प्राप्त गर्ने र कानुनी राज्यभित्र सुरक्षित जीवन बिताउने अधिकार सुनिश्चित गरेको छ। लोकतन्त्रको जग बलियो बनाउन स्वतन्त्र न्यायपालिका, उत्तरदायी सरकार, प्रेस स्वतन्त्रता, तथा जनउत्तरदायी नेतृत्व आवश्यक छ।
राष्ट्रपति पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यताको स्थापना सहिदहरूको बलिदान र जनताको संघर्षबाट सम्भव भएको स्मरण गराएका छन्। उनले लोकतन्त्रलाई संस्थागत गर्दै सामाजिक न्याय, समानता, र समावेशितालाई थप प्रवर्द्धन गर्न सबै नागरिक, राजनीतिक दल, तथा सम्बन्धित निकायहरूको दायित्व रहेको उल्लेख गरेका छन्।
नेपालमा प्रजातन्त्रको प्राप्ति सहज थिएन। १०४ वर्ष लामो जहानियाँ राणा शासनको निरङ्कुशताले नागरिक अधिकारहरू सीमित थिए। २००७ सालको क्रान्ति, २०१७ सालको शाही कदम, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को लोकतान्त्रिक आन्दोलन हुँदै नेपालले गणतन्त्रसम्मको यात्रा तय गर्यो। यी ऐतिहासिक आन्दोलनहरूले जनताको सर्वोच्चता पुनः स्थापित गरे। २००७ सालमा प्राप्त प्रजातन्त्रलाई पटक-पटक कुण्ठित गर्ने प्रयास भए पनि नेपाली जनताले आफ्नो अधिकारका लागि सँधै संघर्ष गर्दै आएको इतिहास छ।
नेपालको प्रजातान्त्रिक यात्रा अझ सशक्त बनाउने जिम्मेवारी आजका पुस्ताले बहन गर्नुपर्छ। समावेशीता, समानता, कानुनी शासन, मानव अधिकारको सम्मान र पारदर्शिता कायम गर्दै मुलुकलाई समुन्नत लोकतन्त्रतर्फ अग्रसर गराउनुपर्छ। लोकतन्त्र भनेको केवल निर्वाचन सम्पन्न गर्नु मात्र होइन, जनताको प्रत्यक्ष सहभागिता, पारदर्शिता, उत्तरदायित्व, सुशासन, र सामाजिक न्यायको सुनिश्चितता हो।
आजको दिन केवल उत्सव मनाउने मात्र होइन, प्रजातन्त्रलाई सुदृढ बनाउने दिशामा प्रतिबद्धता जनाउने अवसर पनि हो। प्रजातन्त्र दिवसको यस विशेष अवसरमा, हामी सबैले लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र प्रवर्द्धन गर्न, समाजमा सुशासन कायम राख्न तथा राष्ट्रलाई समृद्धिको दिशामा अघि बढाउन संकल्प गरौं!
प्रतिक्रिया