प्रधानमन्त्री ओलीद्वारा स्काइवाक टावरको अवलोकन, पर्यटन प्रवर्द्धनमा आशा

बुधबार, ०७ फागुन २०८१, १९ : २४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको विशेष अवसरमा काठमाडौंको कमलादीस्थित स्काइवाक टावरको अवलोकन गरेका छन्। टावरको शीर्ष भागमा पुगेर उनले राष्ट्रिय झन्डोत्तोलन गर्दै यो संरचना बालबालिकादेखि वृद्धसम्म सबैका लागि रोमाञ्चक गन्तव्य भएको बताए।

प्रधानमन्त्री ओलीले “टावरको उपयोगिता छैन” भन्ने धारणा गलत सावित गर्न स्काइवाक टावर जीवन्त प्रमाण बनेको उल्लेख गर्दै यसले नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे। उनका साथमा उनकी पत्नी राधिका शाक्य र सचिवालयका सदस्यहरू पनि उपस्थित थिए।

७८.५ मिटर अग्लो यो आधुनिक टावर विशेष गरी ६५ मिटर उचाइमा रहेको पारदर्शी सिसा मार्गका कारण चर्चित छ। यहाँ आगन्तुकहरूले स्वच्छन्द रूपमा हिँडेर रोमाञ्चक अनुभूति गर्न सक्छन्। अत्याधुनिक दुई लिफ्ट रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा बढी आगन्तुकहरू ओहोरदोहोर गर्न सक्ने क्षमता छ।

स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेका अनुसार प्रधानमन्त्रीको अवलोकनले देशको पर्यटन व्यवसायमा नयाँ उत्साह थपिएको छ। उनले भने, “प्रधानमन्त्रीको उपस्थितिले हामीलाई हौसला दिएको छ। यो टावर केवल मनोरञ्जनको केन्द्र मात्र नभएर नेपालमा नयाँ संरचनात्मक विकासको प्रतीक हो।”

नयाँपन, रोमाञ्चकता, र पर्यटन प्रवर्द्धनको बलियो आधार बनेको स्काइवाक टावर नेपालको पर्यटनमा ‘गेम चेन्जर’ बन्ने अपेक्षा गरिएको छ।

बुधबार, ०७ फागुन २०८१, १९ : २४

प्रतिक्रिया