बागलुङको तित्याङमा ओखरखेतीको विस्तार, बाँझो जग्गाको सदुपयोग

विहीबार, ०८ फागुन २०८१, ०७ : ०५

काठमाडाैं- बागलुङ नगरपालिका–९ तित्याङमा बाँझो जग्गाको सदुपयोग गर्दै व्यावसायिक ओखरखेतीको विस्तार गरिएको छ। बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो रहँदै गएपछि नगरपालिकाले करिब ३०० रोपनी क्षेत्रफलमा ओखरखेती विस्तार गरेको हो।

नगरपालिकाले गत वर्षदेखि बाँझो जमिनमा रहेका कुकाठ हटाउने अभियान सञ्चालन गर्दै स्थानीय कृषकहरूलाई सुक्खा फलफूलखेतीतर्फ प्रेरित गरिरहेको छ। वडाअध्यक्ष राजु थापाका अनुसार, तित्याङको डोय क्षेत्रमा गत वर्ष १४० रोपनी जग्गामा २,२५० ओखरका बिरुवा रोपिएका थिए। यस वर्ष थप १४० रोपनी क्षेत्रमा १,५०० बिरुवा रोप्ने लक्ष्यसहित रु २० लाखको लगानी गरिएको छ, जसमा नगरपालिकाको रु १२ लाख र स्थानीयको रु ८ लाख लगानी छ।

बिरुवा खरिद, रोपण, सिँचाइ पोखरी निर्माण तथा मलखाद व्यवस्थापनका लागि समुचित योजना तयार पारिएको उपप्रमुख राजु खड्काले जानकारी दिए। स्थानीय कृषक कृष्णबहादुर खड्का, रविन थापा र यामबहादुर थापालगायतको बाँझो जमिनमा व्यावसायिक ओखरखेती प्रारम्भ गरिएको छ। ओखरखेतीका लागि उपयुक्त रहेको जुरेढुङ्गा क्षेत्रमा सिँचाइको अभाव भए पनि सुक्खा फलफूल खेती सफल हुने भएकाले यो अभियान प्रभावकारी हुने विश्वास गरिएको छ।

जुरेढुङ्गा कृषक समूहका अध्यक्ष लिलाबहादुर खड्काका अनुसार, गाउँबस्ती रित्तिँदै गएपछि उजाडिएको बारी र जङ्गललाई उपयोग गर्दै ओखरखेतीको विस्तार गरिएको हो। बागलुङको हावापानी अनुकूल हुने भएकाले जुम्लाबाट दाँते ओखरको ‘थिनसेल’ जातका बिरुवा ल्याएर रोपिएको कृषि प्राविधिक लछुता बरुवालले जानकारी दिए। प्रतिबिरुवा रु ३२० को दरमा खरिद गरिएका १,५०० बिरुवा कृषकहरूलाई हस्तान्तरण गरिएको छ।

परम्परागत कृषि प्रणालीमा आश्रित स्थानीय कृषकहरू सामूहिक रूपमा व्यावसायिक खेतीतर्फ उन्मुख हुँदैछन्। उपप्रमुख खड्काका अनुसार, वडा नं ९ का किसानहरूले सुन्तला र तरकारी खेतीसँगै ओखरखेतीलाई उच्च प्राथमिकता दिएका छन्। आगामी वर्ष नगरपालिकाले थप बिरुवा वितरण गरी ओखरखेतीको क्षेत्र विस्तार गर्ने योजना बनाएको छ।

ओखरखेती विस्तारले स्थानीय कृषकको आयआर्जन वृद्धि गर्नुका साथै बाँझो जमिनको सदुपयोग गर्दै कृषि क्षेत्रमा आत्मनिर्भरता अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

विहीबार, ०८ फागुन २०८१, ०७ : ०५

प्रतिक्रिया